भारतमा कोरोना उपचारका लागि खटिएको मेडिकल टिममाथि ढुंगामुढा

एजेन्सी । भारतको उत्तरप्रदेश राज्यको मरादाबादमा कोरोना उपचारका लागि खटिएको मेडिकल टिममाथि ढुंगामुढा भएको छ । ढुंगामुढाबाट चिकित्सक सुधीशचन्द्र अग्रवाल लगायत घाइते भएका छन् । स्थानीय नवावपुरामा निर्माण गरिएको क्वारेन्टाइनमा शंकास्पद व्यक्तिहरु ल्याइएपछि त्यहाँ रहेका स्वास्थ्यकर्मी र प्रहरीमाथि ढुंगामुढा भएको थियो । ढुंगामुढाबाट स्वास्थ्यकर्मी र प्रहरीका २ वटा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आक्रमणकारीहरुले गाडीमा रहेका डाक्टर अग्रवाललाई जबर्जस्ती बाहिर निकालेर दुर्व्यवहार गरेका छन् । उनी गम्भीर घाइते भएका छन् ।
उनीसहित डाक्टर एचसी मिश्र र एक प्राविधिक गम्भीर घाइते भएका छन् । मोरादाबाद, ब्रासनगर लगायतका क्षेत्रमा कोरोना संक्रमणबाट २ व्यक्तिको ज्यान गएपछि स्वास्थ्य विभागको टोली परीक्षण सुरु गरेको थियो । यसैबीच बुधबार स्वास्थ्य परीक्षणमा खटेको टिममाथि अराजक भीडले आक्रमण गरेको हो । झडपपछि टोलीका केही कर्मचारी भागेर सिएमआको कार्यालय पुगेका थिए । चिकित्सकहरुको समूहमाथि आक्रमण भएपछि प्रहरी टोली समेत पछि हटेको थियो । आक्रमणकारीहरुले एम्बुलेन्स समेत तोडफोड गरेका छन् ।
घटना भएको केही समयमा एसपीको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको थियो । आक्रमणकारीहरुले एक डाक्टरलाई बन्धक बनाएका छन् । प्रहरीले थप फोर्स परिचालन गरेको जनाएको छ । झडपपछि २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत कार्वाही हुने प्रहरीले जानकारी दिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार मेडिकल टिममाथि भएको आक्रमणलाई एक अक्षम्य अपराधको संज्ञा दिएका छन् । उनले घटनाको घोर निन्दा गर्दै दोषीलाई कडा कार्वाही गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *