जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण कार्य बन्द गर्यो

0
240

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण कार्य बन्द गरेको छ ।

पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।
कार्यालयका अनुसार परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ । कोरोना भाइरस स‌क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

इ–पासका लागि ८ हजारले फारम भरे
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले इ–पास उपलब्ध गराउने भन्दै अनलाइन फारम भराएको थियो । वैशाख १ गतेबाट सुरु गरिएको अनलाइन फारममा काठमाडौंबाट बाहिर जानका लागि पहिलो दिन नै ५ हजारले फारम भरेका थिए । दोस्रो दिन अर्थात् वैशाख २ गते पनि करिब ३ हजारले फारम भरेपछि सवारी पास उपलब्ध गराउने सम्बन्धमा अझै कडाइ गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
वैशाख ३ गते अपरान्ह १ बजेसम्म ८ हजार भन्दा बढीले काठमाडौंबाट बाहिर जानका लागि सवारी पासको माग गर्दै फारम भरेका छन् ।
यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने अवस्था हेरी दैनिक ३० देखि ५० वटा मात्रै पास उपलब्ध गराउने गरेको छ ।

नक्कली बिरामी र ग्यास्ष्ट्रिकका रोगीले पनि पास माग्न थाले
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार नक्कली बिरामी र सामान्य बिरामीले पनि पास उपलब्ध गराउन भन्दै फारम भरेको बताएका छन् । उनले भने, ‘अहिले पास माग्नेको सङ्ख्या थेगिनसक्नु नै छ । त्यसकारण हामीले मृत्यु संस्कारमा जानेबाहेक अन्यलाई पास उपलब्ध नगराउने सूचना जारी गरेका हौँ । यद्यपि अत्यन्तै सिकिस्त बिरामी भएमा त्यस्ता व्यक्तिहरुलाई भने हामीले पास उपलब्ध गराइरहेका छौँ ।’
सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पास पाइने भन्दै ग्यास्ट्रिकका रोगी, मधुमेह र मुटुका सामान्य रोगीहरुले पनि पास माग्ने गरेका छन् । जसका कारण पास माग्नेको सङ्ख्यामा अत्याधिक वृद्धि भएको छ । आचार्य भन्छन्, कतिपय मानिसले त घरमा बस्दाबस्दा वाक्क लागेर पनि बाहिर निस्कने उपाय खोज्दै पास माग गरेको देखिन्छ । अब त्यस्तालाई पास दिन थालियो भने स्थिति भयावह हुन्छ, त्यसकारण त्यस्ता व्यक्तिहरुलाई पास दिन सकिँदैन ।

आजबाट लकडाउन अझै कडा
काठमाडौंमै कोरोना संक्रमित बिरामी भेटिएपछि आजबाट काठमाडौं उपत्यकाको लकडाउन अझै कडा पारिएको सहायक प्रमख जिल्ला अधिकारी आचार्यले रातोपाटीलाई बताए । यसअघि काठमाडौंमै बिरामी नभेटिएकाले केही नरम गरिएको भएपनि बुधबारबाट लकडाउन अझै कडा पारिएको उनले बताए । प्रहरीलाई लकडाउन कडा गर्न र अनावश्यक बाहिर निस्कनेलाई नियन्त्रणमा लिन निर्देशन दिइएको आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here