२६ चैत, काठमाडौं । लकडाउनको उल्लंघन गर्दै सडकमा निस्किने क्रम बढेपछि प्रहरीले थप आक्रामक बन्ने नीति अख्तियार गरेको छ ।
उपत्यकामा थप मद्दत टोली समेत खटाएर बुधबार बिहान मात्रै दुई हजार ३ सय १ एक जनालाई कारबाही गरिएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने,‘बिहान मात्रै लकडाउन उल्लंघन गर्ने काठमाडौं, ललितपुर र भक्तपुर सर्वसाधारणलाई ठूलोसंख्यामा होल्ड गराएका छौं ।’
होल्ड गराएर उनीहरुलाई कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइएको थियो ।
पोखरेलका अनुसार काठमाडौंबाट एक हजार ४ सय २४ पुरुष, ५ सय महिला, ललितपुरबाट २ सय ७४ पुरुष र ७९ महिला र भक्तपुरबाट २० पुरुष र २४ जना महिला होल्ड गराइएका छन् ।
‘यही समयमा १७ वटा चार पांग्रे र १ सय १२ वटा दुई पांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएका छन्’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने ।
उनले लकडाउन आमनागरिककै लागि सरकारले चालेको कदम भएको बताउँदै भने, ‘अब प्रहरी कडा रुपमा प्रस्तुत हुन्छ । विभिन्न बाहनामा बाहिर निस्किनेलाई छुट हुँदैन ।’
अहिले उपत्यकामा लकडाउन कार्यान्वयनका लागि ४ हजार प्रहरी अधिकारी फिल्डमा खटिएका छन् ।