श्रीमतीलाई साइकलमा राखेर ७ सय किलोमिटर यात्रा गर्ने यी मजदुरको कथा

एजेन्सी । ’डर र भोकले कसलाई आँट नदेला ?’ यो भनाइ न कुनै महान् दार्श्निकको हो, न कुनै उपन्यासको कुनै पात्रको। बरु एउटा मजदुरको हो जसले साइकलमा आफ्नी पत्नीलाई बसाएर पाँच दिनमा सात सय किलोमिटरको यात्रा पूरा गर्दै आफ्नो घर पुगे।

राघोराम उनै हजारौँ मानिसमध्ये एक हुन् जो कोरोना भाइरस महामारीका कारण देशैभर अचानक लगाइएको लकडाउनका कारण भारत हरियाणाको रोहतकबाट उत्तर प्रदेशको बलरामपुर फर्किनुपरेको थियो।

राघोरामले कोरोना भाइरसका कारण आफ्नो अस्तित्व सङ्कटको त्रासले त्यो अभूतपूर्व आँट दिएको बिबिसीलाई बताएका छन् ।उनले काम गर्ने कम्पनीमा केही दिनअघि नै बन्द भएको थियो। ठेकेदारलाई फोन गर्दा कुनै सहयोग गर्न नसक्ने उत्तर पाएको उनको भनाइ छ। भाडामा बसेका उनी घरको माडा दिन नसक्ने अवस्थामा पुगेका थिउ ।राघोराम भन्छन्, ’त्यहाँ बस्ने चिनेजानेका केही मानिस घरतर्फ जाँदै थिए र मैले पनि फर्किनु नै उचित देखेँ। गाउँघर पुगेपछि कम्तीमा भोकले त मरिँदैन।’

पाँच महिनाअघि उनी रोहतक गएका थिए। ठेकेदारमार्फत् उनले एउटा निजी कम्पनीमा केही दिनअघि काम पाएका थिए। मासिक तलब ९,००० भारु थियो।

तर मार्च महिनाको २७ को बिहान उनी पत्नीलाई लिएर हिँडे। चार दिनपछि अर्थात् ३१ मार्चमा उनी गोन्डा जिल्ला पुगे। बीबीसीसँग पहिलो पटक कुरा हुँदा त्यहाँको जिल्ला अस्पतालमा उनी पत्नीसहित जाँच गराउन जाँदै थिए।

यस्तो थियो उनको सकसपूर्ण साइकल यात्रा

राघोरामका अनुसार रोहतकबाट निस्किँदा उनको खल्तीमा १२० रुपैयाँ मात्र थियो। दुइटा झोलामा केही कपडा र सामानबाहेक अरू केही थिएन। पहिलो पटक साइकलमा यात्रा गरिरहेकाले बाटोबारे पनि जानकारी थिएन। उनी भन्छन्, ’सोनीपत भन्ने ठाउँसम्म पुग्दा भोकले सताउन थाल्यो। ठाउँठाउँमा प्रहरीले रोके, तर हाम्रो बाध्यता बुझेर छोडिदिए। सोनीपतपछि राजमार्गमा पुगेपछि कतै नअलमलिएर गाजियावादबाट, बरेली, सीतापुर, बहराइच हुँदै गोन्डा पुग्यौँ।’

त्यहाँको अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई घर जाने अनुमति प्राप्त भयो। उनको गाउँ बलरामपुरको रेहरा क्षेत्रमा पर्छ, तर ससुराली गोन्डा जिल्लामा छ। रात परेकाले उनी ससुरालीमै बास बस्न गए। दोस्रो दिन पत्नीका साथ आफ्नो गाउँ पुगे।उनले यात्रा थालेको हरियाणाको रोहतकबाट बलरामपुरसम्मको सडकमार्गको दूरी झन्डै ७ सय किलोमिटर छ।

राघोरामका अनुसार यति लामो बाटो उनले कहिल्यै साइकल चलाएका थिएनन्। गाउँबाट कहिलेकाहीँ मात्र बलरामपुरसम्म जाने गर्थे। तर कोरोना भाइरसले मनमा यति त्रास उत्पन्न गरिदियो कि त्यही डरले त्यति लामो बाटो तय गर्ने शक्ति आएको उनी बताउँछन्।

पाँच दिन प्रत्येक घण्टा पाँच सात मिनेट विश्राम गर्दै लगातार साइकल चलाइ नै रहेको उनको भनाइ छ। उनी भन्छन्, ’साथमा पत्नी पनि भएकाले लगातार धेरै समय साइकल चलाउन सकिँदैनथ्यो। राति दुई घन्टा आराम गरिन्थ्यो। कहिल्यै कुनै पम्पमा रोकिन्थेँ वा कुनै बन्द पसलको बाहिर आराम गर्थेँ।’

बिबिसी हिन्दीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *