कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द

काठमाडौं । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ।
स्वास्थ्य मन्त्रालयमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए । स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोल अनुसार ओम्नी ग्रुपले काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्ध गरेको उनले बताए ।
श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ ।’हामीले प्रचलित बजार भाउभन्दा २० प्रतिशत महंगो भएपनि सामान आउँछ भने ठिक छ भनेर सम्झौता गरेका थियौं। तर १० प्रतिशत मात्रै सामान आयो। बाँकी सामान आउने कुनै छाँटकाँट छैन,’ महानिर्देशक श्रेष्ठलेभने, ‘त्यसैले हामीले ओम्नीसँग गरेको सम्झौता रद्द गरेका छौं। उसले राखेको ५ करोडको धरौटी जफत गर्ने र कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाएका छौं।’ विभागले धरौटी पनि जफत गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए । अब बाँकी सामाग्रीहरु पनि तत्कालै ल्याउने तयारी गरिएको समेत उनले बताए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।चीन सरकारले १९ वटा कम्पनीलाई मात्रै अनुमति दिएको छ ।
