चीनबाट खरिद गरेका ७५ हजार ‘द्रुत परीक्षण किट’ गोदाममै , तत्कालका लागि प्रयोगमा नल्याइने

काठमाडौँ, १९ चैत । सरकारले कोरोना भाइरसका परीक्षणका लागि हालै चीनबाट खरिद गरेका ७५ हजार ‘द्रुत परीक्षण किट’ गोदाममै राखिएको छ ।

तत्कालका लागि ती किट प्रयोगमा नल्याइने भएको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म ती किटलाई परीक्षका लागि सिफारिस गरेको छैन । उसले मान्यता नदिँदा ती किट हाललाई गोदाममै राखिने बताइएको छ ।

डब्लुएचओले सामान्य अवस्थामा ती किट उपयोग गर्न सिफारिस गरेको छैन । यदि मुलुकमा कोरोना महामारीको अवस्था सृजना भएमा मात्र यसको द्रूत प्रयोग गर्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार चीनबाट ल्याइएका ती किटको परीक्षण परिणाम विश्वसनीय छैन । सत प्रतिशत सही नतिजा ती किटहरुले नदिने बताइएको छ ।

यसअघि चीनबाट स्पेन, इटली लगायतका देशहरुले समेत हजारौँ परीक्षण किटहरु खरिद गरेकोमा तिनको विश्वसनीयता ३० प्रतिशत मात्र रहेको खबर आएका थिए । स्पेनले सोही कारण ती किट फिर्ता गर्न लागेको समेत जनाइएको थियो ।

स्रोतका अनुसार सरकारले चीनबाट ल्याइएका ती परीक्षण किटको मूल्य प्रतिथान ८ अमेरिकी डलर रहेको छ । ती किट रगतको नमूना जाँच गर्न प्रयोग गरिन्छ भने ४५ मिनेटमा नै नतिजा दिन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *