टुँडिखेलमा घोडाजात्राको अवसरमा प्रत्यक्ष देवी कुमारीलाई ल्याइने परम्परा छ। तर कोभिड(१९ का विश्वभर फैलिएको महामारीका बीच कुमारीको यात्रा ननिकालिने भएको छ।
यससँगै कुमारी घरमा पनि प्रत्यक्ष देवीको नित्य पूजाबाहेक अन्य पूजा तथा दर्शन सर्वसाधारणका लागि बन्द गरिएको इन्द्रजात्रा व्यवस्थापन समितिले एक विज्ञप्तिमार्फत् जनाएको छ।
‘हाल विश्वव्यापी रूपमा फैलिई आइरहेको कोरोना भाइरसजस्तो महामारी रोगको सङ्क्रमणबाट सुरक्षित रहन नेपाल सरकारको आह्वानलाई मध्यनजर राखी श्री भवानीको सवारीमा भीडभाड हुने भएकोले’ उक्त परम्परा यस वर्ष रोकिने विज्ञप्तिमा जनाइएको छ।
आगामी चैत्र ११ गते मङ्गलबार घोडाजात्रा परेको छ। उक्त अवसरमा हाल नेपाल वायु सेवा निगम रहेको भवनमा प्रत्यक्ष देवी कुमारीको यात्रा चलाइने परम्परा रहिआएकोमा यस वर्ष नहुने भएको छ।

काठमाडौँको तलेजुका पुजारी उद्धव कर्माचार्य, राजगुरु मञ्जुश्री रत्न वज्राचार्य, काठमाडौँ महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष मचाराजा महर्जन, शाक्य महाविहार संघ तथा अन्य बुद्धिजीविको सल्लाहबमोजिम उक्त यात्रा रोकिएको समितिका अध्यक्ष गौतम शाक्यले जनाएका छन्।