बनेपामा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

९ चैत, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नम्बरको मोटरसाइकल एकापसमा आइतबार बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उनको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् ।

एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही अस्तालमा उपचार भइरहेको र मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *