थानकोटमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार, तीन जना पक्राउ

१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले नैकापबाट तीन जनालाई पक्राउ गरेको छ।

मंगलबार बिहान दुई बजे महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले १७ वर्षीया किशोरीलाई नैकापमा फेला पारेका थिए। उनलाई प्रहरीले सोधपुछ गर्दा तीन जनाले सामूहिक बलात्कार गरेको बताएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

‘गस्ती गएको टोलीले बिहान २ बजे किशोरीलाई भेटेका थिए। आफू बलात्कृत भएको उनले बताएपछि हामीले थप अनुसन्धान थालेका थियौं,’ डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि नैकापबाटै हामीले तीन जना विभिन्न सवारीसाधनका सहचालकलाई पक्राउ गरेका हौं।’

प्रहरीले दाङ राप्ती गाउँपालिका- १ का २४ वर्षीय संजय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका-९ का १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका-२ का १९ वर्षीय कपिल खड्कालाई पक्राउ गरेको हो।

काठमाडौंबाट धादिङ जान हिँडेकी ती किशोरीलाई तीन जना सहचालकले आफूहरूले पुर्‍याइदिने भनेर कुराएको र बलात्कार गरेको किशोरीले बताएकी छन्। डिएसपी श्रेष्ठका अनुसार किशोरीलाई सडक किनार पार्किङ गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकमा जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसुरमा अनुसन्धान तथा कारवाही भइरहेको वृत्तले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *