नेवाः समुदायले भव्यरुपमा मनाउने पाहाँ च¥हे जात्रा कोरोनाको कारण प्रभावित

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण उपत्यकाको जात्राहरु पनि प्रभावित हुने भएको छ । उपत्यकाको नेवाः समुदायले भव्यरुपमा मनाउने पाहाँ च¥हे जात्रा कोरोनाको कारण प्रभावित हुने भएको हो ।
श्री लुँमधि भद्रकाली गुठिका अनुसार विश्वव्यापी रुपमा फैली रहेको कोरोना भाइरस नेपालमा पनि फैलन सक्ने सम्भावनालाई ध्यानमा राखि धैरै मानिस जम्मा हुने असनमा र टुँडिखेलमा गरिने आगो साट्ने कार्यक्रम नगर्ने भएको छ । त्यस्तै, श्री लुँमधि भद्रकालीको खट पनि सिमित ठाउँमा मात्र घुमाउने निर्णय गरिएको छ ।


कसरी मनाइन्छ पाहाँ च¥हे जात्रा
उपत्यकामा नेवा समुदायले टोलटोलमा लुकेर बसेको महादेवलाई सरसफाई गरी लुकुमहाद्य पुजा गरी पाहाचह पर्व मनाउने गरीन्छ। पर्वको अघिल्लो दिन घरवरपरको सरसफाई गर्ने, खाल्डाखुल्डी ढल सफागर्ने र टोलटोलमा स्थापित पुर्खा देवता र लुकेर बस्ने महादेवलाई सरसफाई गर्ने चलन छ।

अन्य दिन मासु नखाने महादेबले आज भने मासु सहितको भोजन गर्ने जनबिश्वास रहेको छ। यसबारे एउटा रोचक किवंदन्ती छ। शनीग्रहले आजदेखि साढेसातको दशा प्रारम्भ भयो भन्दै महादेवलाई छुन लागेपछि महादेव भागेर फोहोरको थुप्रोमा साढे सातबर्षसम्म लुकेर बसेको प्रसंग सुन्न पाइन्छ।

टोलटोलमा रहेको लुकुमहाद्यलाई सरसफाई गरी बर्षको एकपटक तोरी र मुलाको फुल चढाउने र नेवारी परम्परा अनुसार मासु सहितको समयबजी राखेर पुजा गर्ने चलन छ। जात्रा अबधिभर महादेबलाई पञ्चमकार राखेर पुजा गर्ने परम्परा रहेको छ।

लुकेर बसेको महादेवलाई मासु सहितको समयबजी खाएको अरु कसैले पनि नदेखोस भनी यसरी तोरी र मुलाको फुलले छोप्ने परम्परा रहेको हो। यो पर्व बिशेषगरी काठमाडौका नेवा समुदायले मनाउने गरेपनि चाडमा सहभागि हुन उपत्यकाका बिभिन्न समुदाय त्यहा पुग्छन। संस्कृतिबिद यज्ञमानपति बज्राचार्यको धारणा भने फरक छ। बज्राचार्यका अनुसार महादेवको पुजा नभई यो त बालबालिकाको रक्षा र संरक्षण लागि लुकुमहाद्यको पुजा गर्ने परम्परा हो।

उनका भनाइमा महादेवको पुजा नभई बालबालिका झयाल, छतबाट नखसुन्, खसेपनि रक्षा होस भन्दै रक्षा र संरक्षणको प्रतिकात्मक चिन्हका रुपमा लुकुमहाद्यको पुजा गर्ने गरीन्छ। नेपालभाषामा पाहा को अर्थ पाहुना र चह्को अर्थ चर्तुदशी भएकाले पाहुनालाई बोलाएर खुवाउने पर्वका रुपमा लिइन्छ। महादेवका लागि चढाउन बनाउने बिभिन्न मिष्ठान्न भोजन पाहुनालाई पनि बोलाएर खुवाउने भएकाले यो पर्वलाई पाहाचहे पर्व भनिएको हो।
जात्रामा मुख्यगरी कंकेश्वरी, नरदेवी, टंकेश्वरको नीलबाराही, वटु भद्रकाली र लुमही भद्रकालीको खट जात्रा चैत्र शुक्ल प्रतिपदाका दिनसम्म नै मनाइन्छ। औंसीको रातमा
तीनवटै खटलाई टुंडिखेलमा जुधाइन्छ भने चैत्र शुक्ल प्रतिपदाका दिन असनमा देवीको खट जुधाएर जात्रा मनाइन्छ। काठमाडौंको असनमा खट जुधाउँने जात्रा काठमाडौंबासीका लागि दशै पछिको मुख्य पर्व हो। पहाँचर्हे जात्रा अर्थात खट जुधाउँने जात्रा काठमाडौंमा मनाइने जात्राहरू मध्ये एक फरक महत्व बोकेको जात्रा हो।

किम्वदन्ती अनुसार लिच्छवी राजाले काठमाडौं खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी स्थापित गरेका थिए र तीनै अजिमाहरूको सम्मान स्वरूप यो जात्रा गर्ने परम्परा रहिआएको छ। पहिले पहिले असनमा ७ खट जात्रा गरी ‘द्य ल्वाकेगु’जात्रा हुने गरेपनि आजकल तीनवटा खटमात्र जुधाउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *