सुनलाई निक्षेपको रुपमा बैंकमा राखी ब्याज पाउन सकिने

काठमाण्डौ । चालु आर्थिक वर्षको बजेटमा घोषित कार्यक्रमलाई कार्यान्वयनमा ल्याउँदै राष्ट्रबैंकले सुनलाई निक्षेपको रुपमा बैंकमा राखी ब्याज पाउन सकिने व्यवस्था गरेको छ ।

राष्टबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार वाणिज्य बैंकहरुलाई एक परिपत्र गर्दै सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नसक्ने व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।
हालका लागि यो व्यवस्था ख र ग वर्गका वित्तीय संस्थाहरुको हकमा भने लागू नहुने केन्द्रीय बैंकको सर्कुलरमा उल्लेख छ ।

सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने मोडालिटी, त्यसलाई बैंकमा राख्दा पाइने ब्याजदर, निक्षेपको अवधि लगायतका विषयमा समेत केन्द्रीय बैंकले आवश्यक व्यवस्था गर्दै स्पष्ट निर्देशन दिएको हो ।

जसअनुसार सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न चाहने बैंकले त्यस सम्बन्धी नीति तथा विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गराउनुपर्नेछ र निर्णय भएको ७ दिनभित्र यो विषयमा केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्नेछ ।

बैंकहरुले सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्र स्वीकार गर्नुपर्नेछ ।

निक्षेपको रुपमा प्राप्त सुनलाई ढुकुटी दाखिला गरी शुद्धता र तौलको आधारमा अलग गरी सुरक्षित तवरले ढुकुटीभित्र राख्ने व्यवस्था हुनुपर्नेछ । यस्तै, सम्बन्धित बैंकले कुन शाखाबाट सुन निक्षेप स्वीकार गर्नुपर्ने हो, सो तोकेर सूचना प्रकाशन गर्नुपर्नेछ ।

न्यूनतम २५ ग्राम परिमाणको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नुपर्ने, निक्षेपकर्ताबाट प्राप्त सुनलाई तोकिएको शाखामा जाँच गराई शुद्धता तथा तौल यकिन गरी प्रमाणपत्र दिनुपर्ने, ग्राहकलाई सुन निक्षेप लिँदाको बखत नै आफूले जम्मा गरेको साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने सोको यकिन गराउनुपर्ने व्यवस्था गरिएको छ । राष्टबैंकले सुन निक्षेपको अवधि कम्तीमा ३ वर्ष तथा अधिकतम ५ वर्षको तोकेको छ र यस्तो अवधिलाई नवीकरण समेत गर्न सकिने सुविधा दिएको छ ।

निक्षेपकर्ताबाट सुन स्वीकार गरिसकेपछि दिनुपर्ने निक्षेपको प्रमाणपत्र जारी गर्नुअघि सुनको साँवा परिमाण, सुनको शुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि र निक्षेप अवधि सकिएपछि साँवा तथा ब्याज सुनमा वा नगदमा लिन चाहेको विषय जस्ता पक्ष मिहीन ढंगले हेनुपर्ने व्यवस्था समेत गरेको छ ।

सुनको निक्षेपको ब्याजदर सम्बन्धित बैंकले नै निर्धारण गर्न सक्नेछ । नगदमा ब्याज लिने ग्राहकलाई ब्याजको भुक्तानी त्रैमासिक रुपमा गर्नुपर्ने र सुनमा ब्याज लिन चाहने ग्राहकलाई त्रैमासिक रुपमा कम्पाउण्डिङ ब्याजदर गणना गरी निक्षेप अवधिपछि सुनमा भुक्तानी गर्नुपर्नेछ ।

बैंकले प्राप्त गरेको तथा भुक्तानी गर्ने सुनलाई आफ्नो सुन निक्षेप खातामा जुन मितिमा सुन प्राप्त भएको हो, सोही मितिमा र जुन मितिमा भुक्तानी हुने हो सोही मितिको सुनचाँदी व्यवसायी महासंघले तोकेअनुसारको बजार मूल्य बमोजिम मूल्यांकन गरी लेखांकन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

निक्षेप स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुनलाई कायम गर्नुपर्ने सीआरआर तथा एसएलआरमा गणना गर्न सकिनेछ । रु. १० लाख वा सोभन्दा बढी मूल्यको सुन निक्षेपको स्रोत अनिवार्य रुपमा खुलाउनुपर्ने व्यवस्था समेत भएको छ ।

सुन निक्षेप प्रमाणपत्रलाई सोही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म कर्जा प्रदान गर्न सकिने र यस्तो कर्जाको ब्याजदर बैंकले सुन निक्षेपमा दिने ब्याजदरमा २ प्रतिशतसम्म मात्र थपेर असूल्न पाउनेछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा सुनचाँदी र यस्तै बहुमूल्य धातुलाई समेत बैंकमा निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेका थिए । यो व्यवस्थालाई मौद्रिक नीतिमा समेटेको राष्ट्रबैंकले पहिलो चरणमा सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न सकिने व्यवस्था कार्यान्वयन गर्न सर्कुलर जारी गरेको हो ।

सुनलाई निक्षेपको रुपमा राख्ने विषयलाई कमोडिटी डेरिभेटिभ्सलाई डिपोजिटभ डेरिभेटिभ्समा कन्भर्सन गर्न खोजिएकोको रुपमा बुझ्नुपर्ने राष्ट्रबैंकका अधिकारीहरुले बताउँदै आएका छन् ।

‘सुन कमोडिटी हो । र, कमोडिटी डेरिभेटिभ्सलाई डिपोजिट डेरिभेट्भ्समा कन्भर्ट गरी यो उपकरणलाई नेपाली बजारमा प्रवेश गराउन खोजिएको हो ।’ अधिकारीहरु भन्छन्–‘मानिसले अरबौंको सुन किनेर घरमा राखेका छन्, त्यो डिपोजिटकै पैसा हो । त्यसलाई डिपोजिट डेरिभेटिभ्समा लाने हो ।’
सुन जस्ता बहुमूल्य धातु निक्षेपको रुपमा बैंकमा राख्दा तरलता सिर्जना हुने जानकार बताउँछन् ।

हालसम्म बैंकले सुनमा लोन दिने भन्ने चलन थियो, सुन राखेर ऋण लिनुपथ्र्यो । अब चाहि सुन राख्दा समेत ब्याज आउने अवस्था आएको हो ।

यो व्यवस्थाले नयाँ स्रोतको सिर्जना भएको र गोल्डमा गएर बसिरहेको पैसा तरल बन्ने राम्रो उपाय समेत रहेको बताइएको छ ।

कोरियामा पनि कुनै बेला यस्तै प्रयोग भएको थियो र त्यो पूर्ण रुपमा सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *