कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अप्नाउने निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अप्नाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्माओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अप्नाउने निर्णय गरेको जनाइएको छ ।
बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ । उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । त्यस्तै बैठकमा संक्रमण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
उक्त समितिले यो विषयमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने जनाइएको छ ।
