लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु

१६ फागुन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ ।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो।

प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको स्रोतले बतायो । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।

समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ । प्रतिवेदनको रायको आधारमा पौडेलले कारबाही हुनसक्छ । स्रोतका अनुसार समितिले पौडेललाई प्रारम्भमा स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

समग्र प्रकरणको विषय एकातिर भए पनि महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएको प्रहरी उच्च अधिकृतहरु बताउँछन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हामीले छानविन सुरु गरिसकेका छौं, दोषी देखिए कारबाही हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *