कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षणको तयारी

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ ।
चिकित्सकहरुले ज्वरो, खोकी र सास फेर्न अप्ठ्यारो भएर उपचारका लागि आएका बिरामीलाई तरल पदार्थ र पीडा कम गर्ने औषधि मात्र दिइरहेका छन् । सख्त बिरामी व्यक्तिलाई चिकित्सकहरूले भेन्टिलेटर प्रयोग गरेर श्वास फेर्न मद्दत गर्दछन् वा मेसिनको प्रयोग गरेर शरीरभित्र अक्सिजन पम्प गराइन्छ जसले मुटु र फोक्सोको कामलाई केही सहज बनाउँछ ।
चीनमा जाइलेड साइन्सेजले निर्माण गरेको रेमडेसिभर आधारित औषधिको परीक्षण प्रयोग कम्तिमा दुई जना बिरामीमा गरिएको छ । अर्कोतर्फ, एचआईभीको औषधि बनाउन प्रयोग हुने लोपिनावीर र रीटोनावीरको सम्मिश्रणबाट पनि अर्को औषधि परीक्षण भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनले गत महिना प्रकाशन गरेको एक प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा रेमडेसिभरलाई ‘सबैभन्दा सम्भाव्य’ उपायका रुपमा स्वीकारेको थियो । कङ्गोका केही इबोला बिरामीहरूमा यो अध्ययनलाई छोटो परीक्षणका रुपमा प्रयोग गरिएको थियो । डब्लुएचओले प्रयोगशालाको अध्ययनमा नयाँ कोरोना भाइरससँग मिल्दाजुल्दा सार्स र मर्सको उपचार गर्न सकिने जनाएको छ ।
जाइलिडले यो औषधि थोरै बिरामीलाई प्रयोगका लागि उपलब्ध गराएको छ, जसमा वासिङ्टन राज्यका एक व्यक्ति पनि छन् जो कोरोना प्रकोपको केन्द्रमा रहेको चिनियाँ शहर उहानको भ्रमणपछि बिरामी भएका थिए । उनलाई अस्पतालमा भर्ना गरिएको छैन, तर रेमडेसिभरले उनलाई मद्दत गरेको थियो वा थिएन भन्ने केही थाहा हुन सकेको छैन । –एपी
