सामाजिक सञ्जालमा प्रियंका कार्की र आयुष्मान देशराजको विवाहको चर्चा

काठमाडौं- सामाजिक सञ्जालमा प्रियंका कार्की र आयुष्मान देशराजको विवाहको चर्चा छ । अभिनेता र अभिनेत्रीको विवाहको सामान्य चर्चा हुनु स्वभाविकै हो । तर आयुष्मान अहिले विवाह भन्दा पनि उनले गरेको शैलीका कारण आलोचनाको शिकार बनेका छन् ।

सामाजिक सञ्जालमा उनको ट्रोल चर्चामा छ । त्यसो त उनले जेजति चर्चा पाएका छन्, प्रियंका कार्कीसँगको अफेयर र विवाहको खबरले नै पाएका छन्।

पछिल्लो केहीदिन यता आयुष्मान प्रियंकाले जताजता डोर्‍यायो, त्यतैत्यतै हिँडिरहेका छन्। अरूमा त प्रियंकाको नक्कल दर्शकले ठिकै मानेका थिए । ब्याचलर्स पार्टीमा पनि आयुष्मान प्रियंकाले जे गरिन् उस्तै – दुरुस्तै गरेपछि उनी ट्रोलको शिकार बनेका हुन् ।

प्रियंकाले पार्टीमा साथीहरूसँग जे–जे गरेकी थिइन्, आयुष्मानले पनि उही–उही गरे । प्रियंकाले जसरी फोटो खिचाइन आयुष्मानले पनि त्यो नक्कलाई टपक्कै टिपे । उनको यो नक्कलमाथि धेरैले भद्दा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा ट्रोलको ओइरो छ भने टाइमलाइनमा उनका क्रियाकलापलाई ‘चटक’को संज्ञा समेत दिन थालिएको छ ।

यो जोडीले बिहीवार बिहे गर्नेछ । बिहेका लागि नायिका प्रियंका कार्की मेहन्दीमा सजिएकी छिन् । उनले आफ्ना साथीहरुसँगका तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

प्रियंका र आयुष्मानको बिहेका लागि राजधानीमा एक रिसोर्ट बूक गरिएको छ । रिसोर्टलाई प्रियंका र आयुष्मानमय बनाइएको छ । तीन दिनका लागि बूक गरिएको रिसोर्टमा ह्यासट्याग आयंका लेखिएको छ ।

मंगलवार मेहन्दी र संगीतको कार्यक्रम राखिएको थियो । प्रियंकाले आयुष्मानको नामको मेहन्दी लगाइन् भने आयुष्मानले पनि प्रियंकाको नामको मेहन्दी लगाएका थिए ।

गतवर्ष इङ्गेजमेन्ट गरेको यो जोडीले असारमा बिहे गर्ने चर्चा थियो । तर, परिवारको समय नमिलेको भन्दै बिहेको मिति टर्दै आएको थियो ।

फिल्म वृत्तमा यी दुईको बिहे नहुने गसिप पनि चल्दै आएको थियो । भोलिदेखि भने प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *