काठमाडौं । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी छिन् । आज साँझ पशुपतिनाथ मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य–सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गरेका थिए ।
पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गर्नुभएको कोषका सदस्य–सचिव ढकालले जानकारी दिए । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिएका थिए ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गरेका थिए । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ ।
आज बिहान २७ जना र दिउँसो करिब ९० जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराएका थिए । दिउँसो धेरै भक्तजनको भीड लाग्ने भएकाले विशेष पूजाको धेरै रसिद नकाटिएको कोषले जनाएको छ ।
महाशिवरात्रिका अवसरमा बिहीबारदेखि नै देश विदेशका भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको थियो । साधुसन्त भने बुधबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका छन् । यसवर्ष करीब चार हजार साधुसन्त पशुपति क्षेत्रमा आएका छन् । करीब ४०० भन्दा बढी नागा बाबा फागुन कृष्ण एकादशीदेखि पशुपति मूलमन्दिर परिसरमै बसेका छन् ।