गोली प्रहार गरी मोस्टवान्टेड सूचीमा रहेका अभय सिंह पक्राउ

रौतहट । वर्षौँदेखि प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका तराई जन्तान्त्रिक मुक्ति मोर्चाका नारायणी अञ्चल ईन्चार्ज अभय सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
घाइते सिंहको साथबाट एकथान नलकटुवा पेस्तोल र सोमा लाग्ने गोली ५ थान बरामद भएको एसपी खडकाले बताएका छन् ।
प्रहरीको गोली लागेर घाइते भएका सिंहको हाल चन्द्रपुर अस्पतालमा उपचार भइरहेको एसपी खडकाले बताएका छन् ।
अभय सिंह भन्ने कामेश्वर पटेलमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अपहरण तथा शरीर बन्धक, अपराध महाशाखा काठमाडौँमा अपहरण तथा शरीर बन्धक र जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगका साथै दर्जन बढी अपराधको मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।
आफूलाई तराई जनतान्त्रिक मुक्तिमोर्चा भूमिगत संगठनको नारायणी अञ्चल ईन्चाज बताउँदै पटेलले दर्जनौँ व्यापारी तथा कर्मचारीसँग फिरौती माग्दै कतिपयको अपहरणसमेत गरेका थिए ।
सिंहको आतङ्क बढेपछि काठमाडौबाट आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले पटेललाई केही वर्ष अघि चन्द्रनिगाहपुरबाट पक्राउ गरेको थियो ।
केहीसमय जेलमा रहेका पटेल पछि अदालतबाट धरौटीमा छुटेर भूमिगत रहँदै विभिन्न अपराधिक घटना गराउँदै आएको प्रहरीको दावी रहेको छ।
यसअघि, मोस्टवान्टेडको सूचीमा रहेका भारतीय अपराधी कुण्डवा चैनपुरका चाँद अलीलाई पनि रौतहट प्रहरीले सीमाक्षेत्रमा गोली प्रहार गरी पक्राउ गर्न सफल भएको थियो ।
भारतीय अपराधी चाँद अली सहितको समुहले मधेशी नेसनल भूमिगत पार्टीको नाममा ठाँउ–ठाँउमा बमसमेत राखेर कर्मचारी, व्यापारी, जनप्रतिनिधीलाई धम्काएर चन्दा सीमावर्ती क्षेत्रमा चन्दा आतङ्क मचाएका थिए । अलीको समुहले ईशनाथ नगरपालिका ४ मठिया प्रहरीचौकीमा बमसमेत प्रहार गरेको थियो ।
उता, राजपुर नगरपालिकामा बहिनीको प्रेमीको हत्या गरेको अरोपमा दुुईजना दाजुुलाई रौतहट प्रहरीले एकहप्ता भित्रै पक्राउ गर्न सफल भएको थियो । त्यसैगरी केही दिन अघि दुुर्गा भगवती गाँउपालिका अन्तरगत हथौडा प्रहार गरी बृद्धको हत्या गर्ने अपराधी पनी पक्राउ भइसकेको र उक्त अपराधीलाई भोलि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
