रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना

0
40

प्रहरीले नाम चलेको गुण्डा नाइकेको सूचीमा राखेको रामेछाप दुरागाउँका रमेश बाहुन भनिने सुजन पौडेललाई अदालतले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाएको छ। पौडेल केन्द्रीय अनुसन्धान ब्युरोले बनाएको गुण्डा सूचीमा रहेका छन।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार २६ माघ २०७६ मा सजायको फैसला गरेको हो। यसअघि १५ माघ २०७६ मा पौडेल बिरुद्धको लागूऔषध मुद्दाको कसुर ठहर सजाय निर्धारणको आदेश भएको थियो।

अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले पूर्पक्षका लागि कारागारमा रहेका पौडेललाई पक्राउ गरेको मितिले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए।

प्रहरीले पौडेललाई लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको गोलीसहित १० असार २०७१ मा काठमाडौंको कलंकीबाट पक्राउ गरेको जानकारी सार्वजनिक गरेको थियो।

काठमाडौं प्रहरीले उनलाई कंलकीबाट पक्राउ गरेको दाबी गरेपनि उनी भारतको लखनउस्थित भारतीय बिधायक बिनायक सिंहको घरबाट पक्राउ गरी नेपाल ल्याईएको जानकारहरुले दावी गरेका थिए ।

प्रहरीले उनी बिरुद्ध लागूऔषध मुद्दा १४ साउन २०७१ मा दर्ता गरेको थियो। भारतमा बसेर नेपालमा निर्माण ब्यवसायी र ठूला ब्यापारीसँग अवैध असुलीमा सक्रिय भएपछि तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पौडेललाई पक्राउ गर्न विशेष टोली परिचालन गरेका थिए।

उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याईएको थियो।

नेपाली सेनाका भगौडा पौडेललाई पहिलो पटक १० जेठ २०६४ मा काठमाडौं प्रहरीले दरबारमार्गस्थित हटब्रेड अगाडीबाट हतियारसहित पक्राउ गरेर कारबाही गरिएको थियो।

त्यसअघि उनी बिरुद्ध २९ बैशाख २०६४ मा सन्तोष अग्रवाललाई अपहरण गरी रु ५ लाख फिरौती रकम लिई रिहा गरेको बिषयमा प्रहरी अनुसन्धान भइरहेको थियो। उनी बिरुद्ध ललितपुरका आपराधीक पृष्ठभुमीका कांग्रेश नेता मिनकृष्ण महर्जनलाई ज्यानमार्ने उद्योग गरेको मुद्दामा समेत कारबाही भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here