नेपालले अमेरिकालाई हरायो

0
114

काठमाडौँ – स्पीनरहरुले शानदार प्रदर्शन गरेपछि नेपालले विश्वकप लिग २ क्रिकेटमा पहिलो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा घरेलु टोली नेपालले शनिबार अमेरिकालाई ३५ रनले हरायो।

पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ९० रन जोडेको थियो। नेपालका लागि मध्यक्रमका विनोद भण्डारीले ५९ र कुशल मल्लले ५० न जोडे। कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९ र करन केसीले १२ रन बनाए। विनोद र कुशलले छैटौँ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

अमेरिकाले ४४ ओभर १ बलमा सबै विकेट गुमाएर एक सय ५५ रन जोड्यो। नेपालका करन केसीले चार, सुसन भारीले तीन र सन्दीप लामिछाने दुई विकेट लिए। कुसल मल्लले पनि एक विकेट हात पारे। नेपालका स्पीनरले कुल ६ विकेट हात पारे। ६५ रन जोड्दा सात विकेट गुमाएको अमेरिकालाई मध्यक्रमका ब्याट्सम्यान इयान होल्यान्डले जिततर्फ डोर्‍याउने प्रयाश गरेका थिए।

उनले आठौँ विकेटका लागि क्यामरुन स्टेभनसनसँग ४९ रनको साझेदारी गरे। उक्त साझेदारी सुसनले तोडे। होल्यान्डले ७५ रन जोडे। टोलीले एक सय ४४ रन जोडेको अवस्थामा उनी नवौँ विकेटका रुपमा करन केसीको बलमा आउट भएका थिए। अमेरिकाको पालीमा होल्यान्डबाहेक अन्य दुई जना ब्याट्सम्यान मात्र दोहोरो अंक छुन सफल भए।

करनको बल होल्यान्डको ब्याटमा लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच भएको थियो। अन्तिम विकेट पनि करनकै नाममा रह्यो। अमेरिकाका माथिल्लो क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

६ रन जोड्दा पहिलो विकेट गुमाएको अमेरिकाले थप तीन रन जोड्दा थप दुई विकेट गुमाएको थियो। सन्दीपले नेपाललाई पहिलो सफलता दिलाएका थिए।

सुसनले १० ओभरमा एक मेडन राखेर ४३ रन खर्चिए। सन्दीपले १० ओभरमा २ मेडन राखेर २७ रन दिए। करनले ७.१ ओभरमा एक मेडन राखेर १४ रनमात्र खर्चिए। नेपालले पहिलो खेलमा ओमानसँग १८ रनको हार ब्यहोरेको थियो। नेपालले शृंखलाअन्तर्गत तेस्रो खेलमा आइतबार ‌ओमानसँग खेल्ने छ।

ओमानले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। यस शृंखलामा हरेक टोलीले प्रत्येकसँग दुई दुई खेल खेल्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here