साथीलाई हत्या गरेको अभियोगमा एक बंगलादेशी नागरिक पक्राउ

आफूसँगै आएका साथीलाई हत्या गरेको अभियोगमा एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ढाकाका ४५ वर्षीय मुहाउद्दिन अहमद परवेजलाई हत्या गरेको अभियोगमा उनकै साथी ४४ वर्षीय दुला मिया पक्राउ परेका हुन्।

सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लाको ११४ नम्बर कोठामा बसेका दुबैबीच विवाद भएपछि परवेजलाई दुलाले टाउकोमा ह्वीस्कीको बोतल प्रहार गरी हत्या गरेको थाहा भएको छ।

माघ ६ गते बंगलादेशबाट दुबै जना हिमालयन एयरलाइन्सबाट काठमाडौं आएका थिए। ७ गते दुबै बाहिर गएर पुन: कोठामै फर्के।

त्यही दिन बेलुका दुला बाहिर निस्केपछि फर्केनन्। कर्मचारीलले भोलिपल्ट कोठामा गएर हेर्दा परवेज मृत भेटिएका थिए।

प्रहरीका अनुसार ह्विस्कीको बोतलले तीन पटक टाउकोमा प्रहार गरेर दुलाले साथीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

साथीको हत्या गरेर दुला सोल्टी पछाडिबाट बाफल हुँदै कंलकी पुगेर बेलुका रात्रीबस चढेका थिए। उनी वीरगन्ज पुगेको र बोर्डरतर्फ गएको देखिएको छ।

त्यहाँबाट उनी बुधबार काँकडभिट्टा पुगे। उनी भारत प्रवेश गर्न खोजेका थिए। त्यहाँबाट उनी काठमाडौं नै फर्किएका थिए।

यसरी पटक-पटक भारत छिर्न खोजेका उनी किन जान सकेनन् भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

काँकडभिट्टाबाट रात्रीबस चढेर काठमाडौं आउँदै गरेको दुलालाई राति १० बजे इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक र दुला ओशन ट्राभल्स एण्ड टुर्समार्फत् टिकट काटेर काठमाडौं आएको देखिएको छ। परवेजले दुलासँग तीन वर्षअघि लेबनान पठाउन भनी तीन लाख टाका लिएको बुझिएको छ।

लेबनान पठाउन भनी परवेजसँग उनले पैसा लिएको देखिएको छ। दुलाले बंगलादेशबाट पठाउन नसकेपछि काठमाडौं ल्याएका थिए।

काठमाडौं ल्याए भिसा नलागेपछि दुबैबीच विवाद भएको देखिएको प्रहरीले जनाएको छ। यही विवादका क्रममा ह्विस्कीको बोतलले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धान प्रहरीको छ। 

परवेजको शव पोष्टमार्टम गरी बंगलादेश राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइएको छ।

दुलालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको परिसरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *