
काठमाडौं। अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद शेहजादले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण खेल्ने भएका छन्।
१ चैतबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि चितवन टाइगर्सले आज पहिलो विदेशी खेलाडीका रूपमा अफगानिस्तानका शेहजादलाई टीममा अनुबन्ध गरेको जनाएको छ।
“हाम्रो लामो प्रयास तथा शाहजाद आफैं पनि खेल्न इच्छुक भएपछि हामी सहमतिमा पुग्न सफल भएका हौं। उनको आगमनले टीमको ब्याटिङमा नयाँ आयाम थपिने विश्वास हामीले लिएका छौं”, चितवन टाइगर्सले भनेको छ।
शेहजाद अफगानिस्तानका ओपनर हुन्। दायाँ हाते ब्याट्सम्यान शेहजादले विकेटकिपिङ पनि गर्छन्। ३३ वर्षे शेहजादले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आयरल्यान्डविरुद्ध २०१० मा डेब्यू गरेका थिए।
त्यसअघि उनले २००९ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। टेष्ट क्रिकेटमा भने उनले २०१८ मा भारतविरुद्ध डेब्यू गरेका थिए।
बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका शेहजादले आबुधाबी टी–१० क्रिकेट पनि खेलिसकेका छन्। उनले अफगानिस्तानबाट दुई टेष्ट, ८४ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्।
चितवन टाइगर्सले गत वर्ष आयरल्यान्डका पाउल स्टर्लिङ तथा इङ्ल्यान्डका जोन सिम्सन र जर्स स्कटलाई टीममा राखेको थियो। चितवन टाइगर्सले छिट्टै अन्य विदेशी खेलाडी पनि सार्वजनिक गर्ने जनाएको छ।
यसअघि भैरहवा ग्लाडियटर्सले वेष्ट इण्डिजका ड्वाने स्मिथलाई तथा ललितपुर प्याट्रियट्सले श्रीलंकाका पूर्व कप्तान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ।
ईपीएलले यस सिजन नेपालको अन्य फ्रेन्चाइज लिग खेलेका विदेशी खेलाडीलाई नखेलाउने निर्णय गरेको थियो। त्यसकारण गत सिजन राम्रो प्रदर्शन गरेका बाबर हायत, रोहन मुस्तफालगायत भारतका खेलाडीले २०२० सिजन ईपीएल खेल्न पाउने छैनन्।