सामाजिक सञ्जालको प्रयोग गरेर रकम ठगी गर्ने आठजना पक्राउ

मोरङ। विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर रकम ठगी गर्ने गिरोहका आठजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो।
विभिन्न खालका विद्युतीय सामान अनलाइनमार्फत् बिक्री गर्ने भन्दै यो समूहले ठगी गर्दै आएको प्रहरीे अनुसन्धानबाट खुलेको छ।

“हामीले लामो समय लगाएर यो समूह पक्राउ गर्न सफल भएका हौं”, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले भने, “यसभित्रका अन्य विषयमा समेत हामीले अनुसन्धान गरिरहेका छौं।”

प्रहरीले पक्राउ परेका आठजनाको साथबाट ६७ लाख ९९ हजार ७५० रूपैयाँ बरामद गरेको छ। “हामीले विभिन्न बैंकका एटीएम कार्ड, चेक लगायतका महत्त्वपूर्ण कागजातसमेत बरामद् गरेका छौं”, एसपी घिमिरेले भने।

उनका अनुसार पक्राउ पर्नेमा खोटाङ जन्तेखोला गाउँपालिका–४ का शिवजी खड्का, सोही ठाउँकी देवी चौलागाईं, मोरङ सुन्दरहरैंचा नगरपालिका–३ का निरन्जनप्रसाद आचार्य, सुनसरी धरान नगरपालिका–२०, विष्णुपादुकाकी भावना राई, सोही नगरपालिका वडा नं. ५ की सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की छन्।

पीडितहरूले विभिन्न मितिमा आफूहरू ठगिएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सुनसरीकी छत्रकुमारी धमला, विराटनगरका रोशनकुमार मण्डल, निर्मलसिंह रायमाझी, तनहुँका रूपबहादुर आलेमगर र भक्तपुरका राज गोङ्गले उनीहरूबाट ठगिएको भन्दै जाहेरी दिएपछि आफूहरूको अनुसन्धान केन्द्रित भएको एसपी अधिकारीले बताए।

पक्राउ परेका व्यक्तिहरूले विभिन्न मानिसहरूसँग रकम उठाएर भारतीय व्यक्तिहरूको समेत खातामा रकम जम्मा गर्दै आएको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार ठगीमा ७८ वटा नेपाली बैंक र १४ वटा भारतीय बैंक खाता प्रयोग भएको छ।

ठगी प्रकरणमा जोडिएका भारतीय व्यक्तिहरूका सम्बन्धमा समेत मोरङ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले उनीहरूको खोजीसमेत शुरू गरेको छ।

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी, बैंकिङ, सरकारी छाप कागजात दस्तखत कीर्ते, नागरिकता ऐनअन्तर्गत दोहोरो नागरिकतासम्बन्धी मुद्दा र संगठित अपराध निवारण ऐन २०७० बमोजिम अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। एकै व्यक्तिका नाममा धेरै खाताहरू खोलिएको फेला परेको छ।

पक्राउ परेकामध्ये निरन्जनप्रसाद आचार्य भन्ने व्यक्ति नेपालको मुख्य योजनाकार रहेको खुल्न आएको छ।

विशाल अर्याल भन्ने निरञ्जनप्रसादलगायतका मानिसहरूको समूहले फेसबुकमा विभिन्न अनलाइन कम्पनीको नाम उल्लेख गरेर विज्ञापन गर्ने गरेको भेटिएको छ।

“ग्राहकले सामान अर्डर गरेपछि खातावालाको नाम र खाता नम्बर दिने गरेको देखिन्छ”, एसपी अधिकारीले भने, “खाताबाट जम्मा भएको पैसा निकाल्ने कामको नेतृत्व विशाल अर्याल भन्ने निरञ्जनप्रसादले गर्दै आएको भेटियो।”

निरञ्जनप्रसादले वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्कीलगायतका महिलाहरूको फोटो प्रयोग गरी खाता खोल्ने र ग्राहकलाई ती खाताहरूमा पैसा हाल्न लगाउने गरेको पाइएको छ। ग्राहकबाट उठेको रकम निरञ्जनले विभिन्न भारतीय व्यक्तिहरूको खातामा समेत जम्मा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *