१३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन

२४ मंसिर, काठमाडौं । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् ।

सागमा नेपालको अन्तिम स्वर्ण भने पुरुष फटबलले दिलायो । समापन समारोह अघि भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको थियो । यससँगै १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या ५१ पुगेको छ ।

मंगलबार नै नेपालका लागि बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएका थिए ।

चर्चित खेलहरु फुटबल, क्रिकेट र भलिबलमा सम्भव ६ मध्ये नेपालले एक मात्र स्वर्ण जित्न सक्यो ।

महिला फुटबल र भलिबलमा रजत जितेको नेपालले क्रिकेटको महिला र पुरुष दुवैमा कांस्य पदक जितेको छ । पुरुष भलिबलमा भने नेपालले पदक जित्न सकेन ।

यस्तै सागमा समावेश २६ खेलमध्ये नेपालले २५ मा पदक जित्यो भने सुटिङमा भने पदकविहीन रह्यो । मार्सल आर्ट्समा नेपालले यस पटक सर्वा्धिक ३२ स्वर्ण जित्यो । जसमा तेक्वान्दोबाट सर्वा्धिक १२ कराँतेबाट १०, उसुबाट ५, बक्सिङबाट ३ र जुडोबाट २ छन् । बक्सिङमा पाएको स्वर्ण २० वर्षपछि हो । भारोत्तोलनमा सन् २००६ पछि पहिलो पटक जितेको छ ।

यस्तै नेपालले साइक्लिङ, गल्फ, ट्रायथलन र कुस्तीमा पहिलो पटक स्वर्ण जितेको छ ।

कीर्तिमानै कीर्तिमान

१३ औं सागमा नेपाली खेलाडीहरुले कीर्तिमान पनि बनाएका छन् । पौडीकी गौरिका सिंहले चार स्वर्ण जितिन् । उनले जितेको स्वर्ण सागको व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण हो । साथै एक संस्करणमा चार स्वर्ण उनको अर्को कीर्तिमान हो ।

कराँतेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एकै संस्करणमा दुई स्वर्णको कीर्तिमान बनाएका छन् ।

ट्रायथलनमा सोनी गुरुङ, १० हजार दौडमा सन्तोषी श्रेष्ठ, कुस्तीमा संगीता धामी र गल्फमा सुवास तामाङले पहिलो स्वर्णको इतिहास रचेका छन् । यस्तै भारोतोनल महिलामा सञ्जु चौधरी, बक्सिङ महिलामा मिनु गरुङले पहिलो स्वर्ण जितिन् । नेपालले भलिबल र महिला कबड्डीको पनि पहिलो पटक कांस्य जितेको छ । यसैगरी महिला क्रिकेटमा अञ्जली चन्दले २.१ ओभरमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान समेत बनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *