काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।
‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६र७र१७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संसदीय चुनाव सम्पन्न भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशका प्रमुखलाई कामचालाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्त गरेका थिए । देउवाले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ (गण्डकी) मा बाबुराम कुवँर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ (कर्णाली)मा दुर्गाकेशर खनाल र प्रदेश ७ (सुदूरपश्चिम)मा मोहनराज मल्ललाई नियुक्त गरेका थिए ।