म्हः पूजाको ऐतिहासिकता

ऊ ह्रिं स्वाहा ।।
काय विशोधने स्वाहा ।।
वाक विशोधने स्वाहा ।।
चित्त विशोधने स्वाहा ।।

विधिपूर्वक थकाली–नकींले यो मन्त्र पढेर पूजा गरेपछि विधिवत रुपमा शुद्ध हुन्छ हाम्रो मन, वाणी र शरीर । यही मन्त्र र पूजाले भोलिका दिनमा विगतझैँ जोस र जाँगरको पुनर्ताजगी गराउँछ भन्ने विश्वास रहिआएको छ । यही विश्वासका साथ सुरु भएको म्हः पूजाले हाम्रो तिहार पर्वलाई अझ विशेष मनाउँदै आएको छ ।

म्हः पूजाको ऐतिहासिकताबारे इतिहासकार र संस्कृतिविद्हरु नाजवाफ छन् । इतिहास, संस्कृति तथा पूरातत्व विभागकी प्रा. डा. माला मल्ल म्हः पूजा द्वापर युगदेखि सुरु भएको हुनसक्ने अनुमान गर्छिन् । उनको विचारमा म्हः पूजाको ऐतिहासिकता भन्दा पनि यसले बोकेको भाव महत्वपूर्ण हो । उनी भन्छिन्, ‘अरुको भरमा नपरेर आफ्नै कर्ममा विश्वास गर्नुपर्छ भन्ने भावले यो पर्वलाई शताब्दियौंदेखि जीवन्त बनाइराखेको छ ।’

भक्तिवादी कठोर युगमा समेत कर्मवादी विचार बोकेको म्हः पूजाले हरेक मानिसभित्र क्षमता हुन्छ, त्यो क्षमताको जस भगवानलाई नदेऊ, भगवान तिम्रै आत्म हो भन्नेमा जोड दिएको प्रा. डा. मल्ल बताउँछिन् । उनका अनुसार, वेदान्तले सिकाएको ‘अहं ब्रह्मास्मि’मा आधारित रहेर आत्मालाई भगवान मान्न सिकाउनु नै म्हः पूजाको विशिष्टता हो ।

म्हः पूजाको दार्श्निक पक्ष

नेवार समुदायमा अघिल्लो वर्षको चार दिन अघि र पछिल्लो वर्षको चार दिनसम्म बिस्केट जात्रा मनाउने गरिन्छ । म्हः पूजा पनि कात्तिक आमावश्याको चार दिनअघि र चार दिन पछिसम्म मनाउने पर्व हो । यो शरीरसंगै आत्मशुद्धिको पूजा हो । यसलाई जनाउन संस्कृतमा ‘अप दीप भवः’ (आत्म दीप जस्तै होस्) भनिन्छ । यसको अर्थ ‘आफैं ज्योति रुप हुन सक’ भन्ने हुन्छ ।

भक्तिवादलाई बिर्सिएर कर्मवादमा विश्वास जगाउने पर्व हो म्हः पूजा । आफूले दुःख गरेर बनेको कामको श्रेय भगवानलाई दिने गरिन्छ । जस्तो, असारमा दुःख गरेर धान रोपिसकेपछि त्यसको श्रेय भगवानलाई दिने गरिन्छ । कुनै पनि प्रगतिमा भगवानको मात्र हात देख्नुमा आत्मविश्वासको कमीले काम गरेको हुन्छ । त्यसैले हाम्रो क्षमता हामीहरुकै देन हो भन्ने विश्वास जगाउन म्हः पूजा सुरु भएको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् । उनी यसलाई नास्तिकतातर्फको एक पाइलो मान्छन् ।

कात्तिक शुक्ल प्रतिपदामा गोवद्र्धन पूजासँगै गरिने म्हः पूजाको हरेक चरणको आ–आफ्नै दार्श्निक पक्ष छन् । सुरुमा बत्ती बाल्नुको अर्थ हामी पनि चारैतिर प्रकाश छर्न सकौं भन्ने हुन्छ । बत्तीबाट आउने खरानीले हामी पनि एकदिन खरानी हुन्छौं भन्ने दार्श्निक शन्देश दिन्छ । म्हः पूजामा प्रयोग हुने माछा प्रज्ञा र फुल करुणाको प्रतीक हुन् ।

नेपाल एकीकरणसँगै ओझेलमा

काठमाडौं उपत्यकाले एक ढिक्का भएर मनाउने म्हः पूजा (पर्व) मा वि.सं. १५३८ मा यक्ष मल्लको मृत्यु भएसँगै विभाजन आउन थाल्यो । त्यतिबेला राज्यमात्रै विभाजन भएन संस्कृतिको शैलीमा पनि भिन्नता आउन थाल्यो ।

रत्न, राय र रणको संग्रामको भूमरीको प्रभावस्वरुप तत्कालीन तीनवटै राज्यमा म्हः पूजा पनि आ–आफ्नै शैलीमा मनाउन सुरु गरियो । र पनि, पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दासम्म उपत्यकाको आधिकारिक पर्व मानिन्थ्यो म्हः पूजा । अहिले पनि काठमाडौं र भक्तपुरको म्हः पूजा विधिमा केही भिन्नता रहेको संस्कृतिविद् शर्मा बताउँछन् ।

राजतन्त्रकाल अर्थात् २०५० को दशकमा तत्कालीन पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष बनेका थिए पाटनका डा. मंगलराज जोशी । भक्तपुरका संस्कृतिविद् विनोदराज शर्मा (राजोपाध्याय)का पिता त्यो समितिमा सदस्य थिए । म्हः पूजालाई राष्ट्रिय स्तरमा पुर्‍याउन राजोपाध्यायहरुको ठूलो भूमिका रहेको शर्मा सम्झन्छन् । त्यतिबेला दरबारको तर्फबाट म्हः पूजाको ऐतिहासिकता जनाउने कुनै प्रमाण भए उपलब्ध गराउन आह्वान भएको थियो । त्यतिबेला आफ्ना बुबाले किताब लगेर दरबारमा बुझाएको शर्माले बताए ।

उनका अनुसार, त्यो बेला म्हः पूजालाई राष्ट्रिय पर्व बनाउने कि नबनाउने भन्ने विषयमा निकै बहस भएको थियो । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रहेका जोशी यसलाई नेवारहरुको मात्र पर्व मान्थे । संस्कृतिविद शर्मा सम्झन्छन् ‘तर, विस्तृत छलफलपछि यो राष्ट्रिय पर्व नै भएको निश्कर्ष निकालियो ।’

म्हः पूजाबारे पौराणिक मत

शरीर र आत्म पूजाको प्रचलनबारे भविष्य पुराणमा एउटा विषय उठान भएको छ । सो पुराणमा वर्षको एक पटक कात्तिक शुक्ल प्रतिपदाको दिन आत्म पूजा गर्नैपर्ने उल्लेख गरिएको छ । पुराणकाल भनेर हामी ईसाको पाँचौं शताब्दीतिरको काललाई चिन्ने गर्दछौं । जतिबेला भारतमा गुप्तहरुको शासन थियो । त्यही बेलामा पुराणहरुको लेखन सुरु भएको हो । यही विषय बाहेक म्हः पूजाको सुरुवातसम्बन्धी कुनै पनि लिखित र मौखिक प्रमाण पाइने गरेको छैन ।

अर्काेतर्फ यही दिन उपत्यका बाहिर गोवद्र्धन पूजा गरिन्छ । प्रा. डा. मल्ल म्हः पूजाको सम्बन्ध भगवान श्रीकृष्णले गोवद्र्धन पर्वत उचालेर बृजबासीहरुलाई जोगाएको र इन्द्रको शेखी झारेको सन्दर्भसँग सम्बन्धित रहेको बताउँछिन् । त्यही कामलाई नेवारी संस्कृतिले आफ्नो क्षमतालाई प्रदर्शन गराएको प्रतीकात्मक अर्थमा बुझेर यो पर्व मान्न सुरु गरेको हुनसक्ने उनको बुझाइ छ । त्यसैले, यो पर्व भक्तिवादी सोचलाई त्यागेर हामी जे परिश्रम गर्छाैं त्यस्तै फल पाउँछौं भन्ने कर्मवादी सोचतर्फ लाग्न प्रेरणा दिने पर्व हो ।

म्हः पूजा नेवार समुदायको नयाँ वर्ष

यो लक्ष्मीपूजाको ठीक भोलिपल्ट मनाइने पर्व हो । यद्यपि लक्ष्मीपूजा र यसको त्यति साह्रो अन्योन्याश्रित सम्बन्ध भने छैन । मल्लका अनुसार लक्ष्मीपूजा वैदिककालदेखि नै चल्दै आएको हो भने म्हः पूजा पुराणकालदेखि मात्रै चल्न सुरु भएको हो । संस्कृतिविद् शर्मा भन्छन् ‘लक्ष्मी पूजा नेवार समुदायको आर्थिक वर्षको समाप्ति हो ।

यही दिन वर्षभरिको आम्दानी र खर्चको हिसाबकिताब गरेर नाफा र नोक्सानीको विवरण तयार पारिन्छ । प्राचीनकालमा सबै आ–आफ्नो व्यवसायमा लागेको हुनाले नोक्सानीको कुनै सम्भावना नै हुने थिएन । त्यसैले जति सम्पत्ति फाइदा भयो त्यो सम्पत्ति आफ्नो खुद सम्पत्ति सम्झिएर फाइदा भएको सम्पत्तिको तीन चौथाइको भोजमा खर्च गर्ने प्रचलन थियो ।’ उनका अनुसार त्यसैले लक्ष्मी पूजाको दिन रातभरि जागा बस्नुपर्ने मान्यता राखिएको हो ।

कसले कसलाई गर्ने पूजा ?

जुनदिन उपत्यका बाहिर गोबद्र्धन पूजा गरिन्छ । सोही दिन नेवार समुदायले केवल आत्म र शरीरको मात्रै पूजा गर्दैनन् । त्यो दिन आफूसँगै घरमा राखेका सबै जीवहरुको पूजा गर्ने गरिन्छ । साथमा कुचो, सिलौटो जस्ता निर्जीव वस्तुहरुलाई पनि जीव मानेर पूजा गर्ने चलन छ । प्राध्यापक मल्ल यसको परम्परा नेपाल संवतभन्दा पहिलेदेखि नै यो सुरु भएको दाबी गर्छिन् ।

यो दिन दियो, कलश र गणेशको प्रतिमा बनाएर थकाली–नकींले तीनै प्रतिमूर्तिको पूजा गर्ने गर्छिन् । हिन्दू नेवारहरुमा कुलको मूल व्यक्तिलाई थकाली भनिन्छ र उनकी पत्नीलाई नकीं भन्ने गरिन्छ । उनैले यो पूजा गर्ने गर्द्छिन् । थकाली–नकींहरुको विकल्पमा घरमा जो सधुवा छ । उसैले म्हः पूजा गर्ने गर्छन् । प्राध्यापक मल्लका अनुसार पुरुषले यो पूजा गर्दैनन् । केवल उनीहरुलाई पूजा गर्ने प्रचलन छ । साथमा महिलाहरुलाई पनि समान हिसाबले पूजा गर्ने गरिन्छ ।

यो पूजा गर्नुपूर्व घर बाहिर आकाशदीप बाल्ने गरिन्छ । बत्ती बालेर घर भित्र मण्डप बनाइन्छ । यो पूजा प्रतिपदाको दिन राति गर्ने पूजा हो । विशेष गरी बुईंगल (घरको सबैभन्दा माथिको ठाउँ)मा यो पूजा गरिन्छ । यो दिनबालेको दीप तीनै लोकमा पुग्ने विश्वास छ । नरकाश्वरलाई श्रीकृष्णले पातालमा पुर्‍याएको उपलक्ष्यमा तिहारमा बत्ती बाल्ने गरिएको पनि एउटा मत छ । यही विश्वास अनुरुप यो दिन पनि घर झिलिमिली गराइन्छ ।

यो दिन नै दशैंमा बली राखेको बोकाको टाउकोलाई स्वादिष्ट बनाएर पकाउने गरिन्छ । लक्ष्मीपूजाको दिनदेखि यो मासु ३ दिनसम्म खाने गरिन्छ । लक्ष्मीलाई पुरानो मासु मनपर्ने भएकोले दशैंको बलीलाई प्रसादको यही दिन अण्डा मासु लगायत ५ किसिमको पञ्च मकारबाट पूजा गर्ने गरिन्छ । म्हः पूजाको दिन पूजा गरिसकेपछि बत्ती बालिन्छ । पूजा सम्पन्न गरिसकेपछि हरेकलाई १२ सुते जजंका वितरण गर्ने गरिन्छ । यो जजंका सकेसम्म त वर्षभरी नै लगाउनुपर्छ भन्ने मान्यता छ । नभए पनि ४ दिनसम्म यो अनिवार्य छ । जजंका जनै जस्तै एक किसिमको धागो हो । यो अहिले दुर्लभ हुँदै गएको छ ।

म्हः पूजा विधि

आफ्नो शरीरको तान्त्रिक विधिबाट पूजा गरिन्छ । यो पूजा गरेर वर्षभरि शरीरमा चोट नलाग्ने, बिरामी नहुने, सुखशान्ति प्राप्त हुने कामना गरिन्छ । त्यसैले परिवारका सबै सदस्य एकै स्थानमा भेला भएर सामूहिक पूजा गर्छन् । म्हः पूजाको दिन बौद्ध नेवारले बुद्ध, धर्म र संघ, कुलदेवता तथा इष्ट देवताको पूजा गर्छन् । हिन्दु नेवारले भने बली राजाको पूजा गर्छन् ।

म्हः पूजा गर्ने समयमा सबैभन्दा पहिले मण्डप बनाइन्छ । त्यसमा ५४ देवी–देवताको प्रतीकको रुपमा ५४ वटा चक्का बनाईन्छ । त्यसमा अष्टदिक्पाल, अष्टमात्रिका लगायतको नाममा तेलको धारा बनाइन्छ । म्हः पूजाका क्रममा जति पनि प्रयोग हुने मखमलको फूल र ओखरले त्यागको भावनाका लागि प्रेरणा मानिन्छ ।

सुरुमा तेलको धारा बनाइन्छ । त्यसपछि चामलको पिठोमा बेसार मिसाइन्छ । त्यसको माथि अबिर राखिन्छ । हरेकको चक्काहरुमा भर्खरै काटेर ल्याएको नयाँ धान राखिन्छ । यो भित्र्याउन त्यसमाथि अक्षता राखिन्छ । अक्षतामाथि फूल र त्यसको माथि जजंका राखिन्छ । यसलाई पञ्चतत्वको प्रतीक मान्ने गरिएको छ । त्यसपछि दायाँ बायाँ सुकुण्डा र त्यसमाथि कुचो राख्ने गरिन्छ । त्यही दिनदेखि नयाँ कुचो पनि प्रचलनमा ल्याउने गरिन्छ ।

बाबु, आमा र छोराको प्रतीकको रुपमा सुकुण्डा राख्ने गरिन्छ । यहाँ रहेको दियो, कलश र गणेशको पनि प्रतीकात्मक अर्थ हुन्छ । दियो सूर्यको प्रतीक हो । कलश सातवटा तीर्थको पानीको प्रतीक हो । गणेश छोराको प्रतीक हो । त्यसको साथमा पानस पनि नभई हुँदैन । त्यसपछि नयाँ कुचो राखिन्छ ।

त्यसपछि आत्मपूजा वा देहपूजा गरिनेहरुको नाममा पाँचकोठा (पञ्चतत्वको प्रतीक) भएको मण्डप बनाइन्छ । त्यो मण्डपमा दीप प्रज्वलित गर्ने र धुप बाल्ने गरिन्छ । त्यसपछि थकाली नकींले मण्डपमा पूजा गरेर अर्घ दिने, सबैलाई टीका लगाएर मण्डपमा पूजा गर्ने गरिन्छ । त्यसबेला हरेकलाई फलफूल रोटी र लामो जजंका दिने चलन छ । पूजाको अन्त्यमा कसैले सबैलाई सगुन दिन्छन्, कसैले सगुन लिँदैनन् ।
साभारः अनलाइनखवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *