आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढ्यो

0
106

घाट सेवकहरुको आन्दोलनले उनीहरुको माग पूरा भएको छ । तर, घाटमा आफ्ना मान्छेको दाहसंस्कार गर्न पुग्नेहरुको खर्च बढेको छ । अब आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढेको छ ।

शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको छ । त्यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा २र२ सय रुपैयाँ बढेको छ । यसअघि यो शीर्षकमा चाररचार सय शुल्क लाग्थ्यो, अब मृतकका आफन्तहरुले ६ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यसैगरी चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ ।

दशनामीहरुका लागि शव गाड्न खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पु‍र्‍याइएको छ । त्यस्तै बच्चाको शव गाड्न खनिने खाल्डोको शुल्क पनि २५ प्रतिशतले बढाइएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले ९ वर्षदेखि नबढेको शुल्क बढाइएको बताए ।

‘उहाँहरुले त अस्वाभाविक रुपमा बढाउन माग गर्नुभएको थियो, हामीले न्यायोचित हुने गरी सहमति गरेका हौं,’ ढकालले भने, ‘म कोषमा आउनासाथै पनि यस प्रकारको आन्दोलन भएको थियो, हामीले उहाँहरुलाई न्यायोचित व्यवस्था गर्छौं भनिरहेका थियौं । बुधबार एक्कासी फेरि आन्दोलन सुरु हुन लागेको थाहा पाउना साथै वार्तामा बोलाएर समस्या समाधान गर्‍यौं ।’

घाट सेवा केन्द्रका कर्मचारीको आन्दोलन घोषणापछि कोषको निर्देशनमा विद्युतीय शवदाहगृहका दुईवटै मेसिन प्रयोगमा ल्याइएको ढकालले बताए । यसअघि एउटा मात्र मेसिन प्रयोग हुँदै आएको थियो ।

‘यदि आन्दोलन लम्बिएको भए पनि हामीसँग विद्युतीय शवदाह गृहको विकल्प थियो,’ उनले भने, ‘हामी निकट भविश्यमा नै दाउराबाटै मेसिनमार्फत शव पोल्न सकिने गरी अर्को मेसिन ल्याउँदैछौं । यसले पनि भविश्यमा यस्ता समस्या आएमा विकल्प खुला राख्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here