६ कात्तिक, काठमाडौं । भूमाफियाले व्यक्तिगत सम्पत्तिसरह प्रयोग गर्दै आएको सार्वजनिक जग्गा खाली नभएपछि स्थानीयवासीले विरोध प्रर्दशन गरेका छन् ।
खुलामञ्च र रत्नपार्कको बीचमा रहेको दुईमाजु गुठी मन्दिरको एक रोपनी भन्दा बढी जग्गा गैरकानूनी रुपमा भाडामा लगाएको प्रमाणित भए पनि सरोकारवालाले जग्गा खाली गराएको छैन ।
त्यसको विरोधमा स्थानीयवासीले ‘दुईमाजु गुठी दोहन गर्न बन्द गर, तत्काल व्यापारिक सम्झौता रद्द गर’ भन्दै बुधबार विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २८ का एक नागरिक सुशन वैद्यले गुठी संस्थानसँग जग्गा भाडामा लिएकी अमृता भट्टराईले नै सम्झौता खारेज गर्न माग राखेर निवेदन दिइसक्दा पनि मन्दिर परिसर खाली नभएपछि प्रदर्शन गर्नुपरेको बताए ।

भूमाफियाले गुठीको जग्गा १५ हजार भाडामा लिएर ३२ वटा पसलेबाट मासिक १५–२० हजार रुपैयाँ असुल्दै आएका छन् । गुठीसँगको सम्झौता अनुसार तेस्रो पक्षलाई भाडा दिन पाइदैन । गुठी संस्थान, काठमाडौं महानगरपालिका र २८ नम्बर वडा कार्यालयसंग भूमाफियाको मिलोमतो देखिएको भन्दै वडाबासी ‘सम्पदा बचाऊ अभियान’ नै चलाएर आन्दोलित भएका छन् ।