सुरुङमार्गको शिलान्यास , ६ वर्ष अगाडिदेखिको तयारीले मुर्तरुप लिने

४ असोज, काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरे । सुरुङमार्ग निर्माण सुरु भएसँगै ६ वर्ष अगाडिदेखिको तयारीले मुर्तरुप लिने निश्चित भएको छ ।

यो आयोजनाको प्रारम्भिक अध्ययन सन् २०१४ मा नै सुरु भएको थियो । सन् २०१६ मा आर्थिक स्रोत सुनिश्चित गरेर २०१७ बाट डिजाइन थालिएको थियो । सुरुङमार्ग २।६८ किलोमिटर ९२ हजार ६ सय ८८ मिटर० लामो हुनेछ ।

सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनामार्फत यसको निर्माण गर्न लागिएको हो । सबै तयारी सकाएर सम्भवतः डिसेम्बर महिनाबाट जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यसको निर्माण सुरु गर्ने आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए । अहिले निर्माण क्याम्प खडा गर्ने र मेसिनहरु ल्याउने तयारीमा ठेकेदार कम्पनी लागेको छ ।

ठेकेदार हाज्मा नेपालमा निर्माणको काममा राम्रो रेकर्ड भएको जापानी कम्पनी हो । कोटेश्वर–सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । यसले नै विपी राजमार्गको निर्माण गरेको हो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारले नै गरेको हो । काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का लागेको छ । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २।८७ किलोमिटर (२ हजार ८ सय ७२) को पहुँचमार्ग पनि बनाइँदैछ ।

पहुँचमार्गका लागि गुर्जुधाराचोक र सुरुङको मुखभन्दा मुनि २ वटा फ्लाइओभर बन्नेछन् । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुने आयोजना प्रमुख खरेलले बताए । कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन अर्को पनि फ्लाइओभर बनाइनेछ यो करिब १५० मिटरको हुनेछ । यी नेपालकै पहिलो फ्लाइओभर हुनेछन् ।

२ लेनको यो सुरुङमार्गमा १० मिटर चौडाइको सुरुङमार्गमा भेन्टिलेसन र जेट फ्यान पनि जडान गरिनेछ ।

आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेन (४ मिटर) को सहायक सुरुङ पनि बन्नेछ । कुनै दुर्घटना भए सहायक सुरुङबाट गएर उद्धारको काम गर्न सकिनेछ । सुरुङमार्गका दुबैतर्फ सडक दस्तुर असुल गर्ने काउन्टर र सुरुङ व्यवस्थापन कार्यालय खोलिनेछ ।

अष्ट्रेलियन प्रविधि

यो सुरुङमार्ग बनाउन टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिने छैन । बिष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने आयोजना प्रमुख खरेल बताउँछन् । अष्ट्रेलियन टनेलिङ मेथडबाट यो सुरुङमार्ग बन्नेछ । यसअन्तरगत जम्बो ड्रिलिङ मेसिनहरु पनि प्रयोग गरिन्छ ।

सुरुङमार्ग बनाउन ५ देखि ६ सय मेट्रिक टन विष्फोटक पदार्थ लाग्ने अनुमान छ । नेपालमा आयोजनाहरुका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनामार्फत लिनुपर्छ ।

यो सुरुङमार्ग बनेपछि नेपालमा सुरुङमार्गको प्रविधिको प्रयोग बढ्ने अपेक्षा विभागको छ । सडक विभागले पनि सुरुङमार्ग निर्माणको अनुभव बटुल्ने सडक विभागमा महानिर्देशक केशवकुमार शर्माले बताए । ‘यो आयोजनाबाट हामीले धेरै कुरा सिक्न पाउँछौं,’ उनले भने, ‘यो सुरुङमार्ग प्रविधिको हस्तातरण गर्ने आयोजना पनि हो । ’

२२ अर्बको आयोजना

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुनेछ । सरकारले सुरुङ तथा पहुँचमार्गका काठमाडौं जिल्लातर्फका प्रभावितलाई करिब ५ अर्ब मुआब्जा बाँडिसकेको छ । तर, अझै धादिङतर्फको भागमा मुआब्जा बाँड्न प्रक्रिया थालिएको छैन ।

यो आयोजनामा जापान सरकारको ऋण १६।६ अर्ब र नेपाल सरकारको ५।५३ अर्ब रुपैयाँ खर्च हुने महानिर्देशक शर्माले जानकारी दिए । ०।०१ प्रतिशत व्याजदरमा जापानले ४० वर्षका लागि ऋण उपलब्ध भएको हो । उनले यो सुरुङमार्गको निर्माण थालिएसँगै नेपाल ‘सुरुङ युग’मा प्रवेश गरेको बताए ।

जाम हटाउने आयोजना

नौबीसेदेखि थानकोटसम्मको सडकखण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनिकरण गर्ने उद्देश्यले सरकारले यो सुरुङ बनाउन लागेको हो ।

अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबिसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ । यसले नागढुंगाको उकालोमा सवारी आएर घन्टौं लाइन बस्नुपर्ने बाध्यता हट्ने छ ।

‘यसले काठमाडौंको आपूर्ति तथा यातायात व्यवस्थापन त सुध्रने नै छ । अन्य जिल्लासँगको सडक सम्पर्क पनि सहज बन्ने छ,’ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता सापकोटा भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *