निरन्तरको निगरानी पश्चात विप्लव समूहका २१ जना नेता पक्राउ

३० असोज, काठमाडौं । नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्डर चन्द्रबहादुर चन्द पनि रहेको खुलेको छ ।

५ नं। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले बताए ।

उनले पक्राउ पर्नेको विवरण आइनसकेको बताए । यद्यपि, जिल्ला प्रहरी कार्यालय, दाङका एक अधिकृतले पक्राउ पर्नेमा चन्द्रबहादुर पनि रहेको पुष्टि गरेका छन् ।

उनी पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु हुन् । अहिले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।

जंगलमा तीन दिनदेखि अड्डा

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार राजपुर गाउँपालिका(४, मरेठामा विप्लव समूहका नेता तीन दिनदेखि बसिरहेका थिए । निरन्तरको निगरानी पश्चात गएराति १ बजे छापा हानिएको थियो ।

भारतसँग सीमा जोडिएको त्यस क्षेत्रमा रहेको घना जंगलभित्र केही घर थिए । तीमध्ये ज्ञानेन्द्र ओलीको घरमा उनीहरुको बैठक बसिरहेको थियो ।

‘ज्ञानेन्द्रजी विदेशमा हुनु हुँदो रहेछ । खाली भएकाले विप्लव समूहका नेता त्यहीँ बैठक बसेका रहेछन्’, ती अधिकृतले भने ।

पक्राउ परेकाको साथबाट महत्वपूर्ण दस्तावेज, चन्दा मागिएका विवरण, ३२ थान मोबाइल, विष्फोटक पदार्थलगायतका सामग्री बरामद भएका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *