प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले समाजवादी पार्टीकी नेतृ नियन्त्रणमा

२४ असोज, सप्तरी । चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनीता साहलाई सप्तरी सदरमुकाम राजविराजबाट नियन्त्रणमा लिएको हो

अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष समेत रहेकी साहलाई शुक्रबार राजविराज ६ स्थित उनको घरबाटै पक्राउ गरिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी साहलाई काठमाडौं पठाइने उनले बताए ।

चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन् । २३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुव्र्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो ।

उक्त प्रदर्शनमा सहभागी साहसहित १० जनाबिरुद्व अभद्र व्यहारको मुद्दा चलाइएको थियो । सोही घटनालाई लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि चीनका राष्ट्रपतिको भ्रमणको बेला प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकी साहले आफ्नो फेसबुकमा चीनका राष्ट्रपति नेपाल आउन लाग्दा नेपाल सरकारले गरिरहेको खर्चको विरोधसमेत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *