करणको नायकत्वमा नेदरल्यान्ड्सविरुद्ध नेपालको जित

काठमाडौं । पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा करण केसी नायक बने । विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए ।

यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे ।

नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९.३ ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओुडोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए ।

जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ । नेपाल सिरिजको दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।

नेदरल्याण्डको भने यो लगातार दोस्रो हार हो । अंक विहीन नेदरल्याण्ड पुछारबाट दोस्रो स्थानमा छ । पहिलो खेलमा नेदरल्याण्ड आयरल्याण्डसँग पराजित भएको थियो ।

अब नेपालले बुधबार आयरल्याण्डसँग र अन्तिम खेलमा नेपालले ओमानसँग बिहिबार खेल्नेछ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *