बडादशैंको पाँचौं दिन,स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै

१६ असोज, काठमाडौं । आज बडादशैंको पाँचौं दिन हिन्दूधर्मालम्बीहरूले स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् ।

नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।

जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ । उनलाई हामी क्रियात्मक ज्ञान अथवा सही ज्ञानबाट प्रेरित क्रिया, कर्म समेत भन्न सक्दछौं ।

हामी विद्यालयमा पढेको ज्ञानलाई जसरी दैनिक जीवनमा प्रयोगमा ल्याउने गर्दछौं । हामीले सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई जसरी व्यवहारमा उतार्ने गर्दछौं त्यहाँ पनि स्कन्द तत्व भेटिन्छ । त्यसैले स्कन्दमाता सही व्यवहारिक ज्ञान र क्रियाकी प्रतीक हुन् । हामीले यी देवीको पूजासँगै यो विषयलाई ध्यान दिनु पर्दछ ।

यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *