एसिड आक्रमणमा परेर उपचाररत मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडिओ सन्देश पठाएका छन्।
अमिताभले मुस्कानको शीघ्र स्वास्थ्यको कामना गर्दै यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको सामाजिक सञ्जाल ट्वीटरमा पठाएको भिडिओ सन्देशमा बताएका छन्।
‘मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन,’ अमिताभले भनेका छन्,‘तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ।’
यसअघि बलिउड अभिनेता वरूण धवनले पनि मुस्कानलाई भिडिओ सन्देश पठाएका थिए भने गायक राजु लामा उनलाई भेट्न अस्पतालमै पुगेका थिए।
भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। मुस्कानलाई एसिड हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।