काठमाडौं, असोज १२ । शनिबार नेपाली क्रिकेट मात्र होइन अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एउटा समाचार निकै प्राथमिक्ताका साथ लेखियो। नेपाली टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय टी-२० मा नेपालको पहिलो शतक मात्र प्रहार गरेनन्, रन चेंज गर्दा शतक प्रहार गर्ने विश्वका पहिलो कप्तानसमेत बने। यो समाचार साँचिकै विश्व क्रिकेटकै लागि सम्झनलायक र हेर्न लायक रह्यो।
यो शतकसँगै नेपाली क्रिकेटमा एउटा चर्चा चलेको छ। पारसका यो उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय टी-२० का चर्चित फ्रेन्चाइज लिगमा ढोका खुल्ने आंकलन गरिएको छ। उनको शतकको प्रशंसा मज्जाले गरे। सिंगापुर विरुद्धको टी-२० खेलमा कीर्तिमानी अविजित १०६ रन प्रहार गरे।
टी-२० क्रिकेटमा सतक प्रहार गर्ने कप्तानको सूचीमा विश्वमा शीर्ष १० मा परेका पारस विराट कोहली र अष्ट्रेलियाका स्टिभ स्मिथलाई पनि पछि छोड्न सफल भए। लक्ष्य पछ्याउँदै शतक प्रहार गर्ने विश्वको पहिलो कप्तानका रूपमा रहँदा उनले विश्व क्रिकेटका धमाकेदार कप्तान तथा ब्याट्सम्यानहरू कोहली, स्मिथ, मोर्गन लगायतलाई पछि पारे।
सर्वाधिक छिटो शतक प्रहार गर्ने चौँथो खेलाडी बनेका पारसले ४९ बलमा नै शतक पूरा गरेका थिए। उनले आफ्नो इनिङमा ७ चौका र ९ छक्का प्रहार गरेका थिए। त्यस्तै टी–२० क्रिकेटमा शतक प्रहार गर्ने मामिलामा भने ४९ औं खेलाडी बने। पहिलो अन्तर्राष्ट्रिय शतकसँगै नेपाल २६ औं टि-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने देशका रूपमा रह्यो।
आइपिएलमा अटाउलान पारस?
पछिल्लो समय नेपाली कप्तान खड्काले सीमित खेलका बाबजुत नेपाली इनिङमा विस्फोटक इनिङ खेलेका छन्। उनी टी-२० ब्याटिङ वरीयतामा ६६ औं स्थानमा छन्। उनले टी-२० का दिग्गज खेलाडीहरू महेन्द्र सिंह धोनी, क्रिस गेल तथा कोलिन डि ग्रान्डहोमलाई पछि पार्दै अन्तर्राष्ट्रिय टी–२० दुनियाँमा आफूलाई अब्ब्ल प्रमाणित गरेका छन्। त्यसैले यो पटक आइपिएलमा उनको संभावना बढ्दै गएको विष्लेषण हुन थालेको छ। पछिल्लो समय उनको संयमित र आक्रम टी-२० प्रदर्शनले पनि उनको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा छानिने सम्भावना बढेको हो। थाह खबरबाट साभार