चाडपर्वमा कसरी सुरक्षित रहने?

सामान्य भाषामा सुरक्षा भन्नाले कुनै पनि वस्तु वा व्यक्तिको रक्षा गर्नु, क्षतिबाट जोगाउनु भन्ने बुझिन्छ । वस्तु, व्यक्ति र धन सम्पत्तिमाथि हुनसक्ने खतराको रोकथाम गर्ने अथवा हानी हुनबाट रोक्न गरिने क्रियाकलापहरु सुरक्षाका  उपायहरु हुन । सुरक्षा एक मानवीय सतर्कता पनि हो । 

चाडपर्वका बेला किनमेल गर्ने तथा आफ्ना कर्मथलोबाट जन्मथलो जानेहरुको चहलपहल बाक्लो हुन्छ । हर्ष, उल्लास, खुशियाली लिएर आइरहेका चाडपर्वहरु कतिपय अवस्थामा नागरिकहरुको आफ्नो सानो गल्तीले पिडादायी पनि बन्न सक्छन् । अपराधीहरुले यस्तै चहलपहल, भिडभाड तथा घरमा कोही नभएको मौकाको फाइदा उठाउने अवसर खोजिरहेका हुन्छन् ।

‘आफ्नाे थैलीकाे मुख राम्ररी बन्द गर्नु, अरुलाई चाेर दाेष नलगाउनु’ भन्ने उखान नै छ । चाडपर्वहरुका बेलामा विभिन्न आपराधिक समूहहरुले पनि मौका खोजिरहेका हुन्छन् । त्यसैले उत्सव मनाउने, किनमेल गर्ने तथा यात्रा गर्ने क्रममा सदैव चनाखो हुनु एवं सतर्कता अपानाउनु अति आवश्यक हुन्छ । सुरक्षा सतर्कता अपनाउन सकिएन भने कोही पनि व्यक्ति जहाँसुकै, जुनसुकै बेला पनि ठगिन, चोरिन वा लुटिन सक्छ ।

विगतमा पनि चाडपर्वका बेला समयमा चोरी लुटपाट, कुटपिट, झै-झगडा, सवारी दुर्घटनाहरु बढी भएको तथ्यांकहरुले देखाएका छन् । त्यसैले अन्य बेलाभन्दा चाडपर्वको समयमा नागरिकहरु अझ बढी सजग र सतर्क रहनुपर्दछ । यस्ता अपराध रोकथाममा प्रहरीहरुले विशेष सुरक्षा योजना बनाएर अघि बढिरहेका हुन्छन् तर नागरिकहरुले पनि आ–आफ्ना तर्फबाट सुरक्षाका केही उपायहरु अवलम्बन गर्नसके सम्भावित लुटपाट तथा धनमालको नाश हुनबाट जोगिन/जोगाउन सकिन्छ । 

 के हुन् त यी उपायहरु ? 

 घरबाट बाहिर जाँदा अपनाउने उपायहरु

  • कुनै स्थानमा पुग्दा पर्यटकजस्तो अर्थात् नौलो भएकोजस्तो नगर्ने ।
  • अपरिचित मानिसहरुसँग अनावश्यक बोलचाल नगर्ने ।
  • अपरिचित मानिसहरुले दिएको कुनै पनि वस्तु नलिने र नखाने ।
  • आफनो परिचय खुल्ने कागजात तथा आपतकालीन अवस्थामा सम्पर्क गर्ने फोन नम्बरसहित राख्ने । साथै आफ्नो कागजपत्रहरु परिचयपत्र, मुख्य कागजात वा फोटो खिचेर सुरक्षित राख्ने ।
  • नगद वा बहुमूल्य सामानहरु सकेसम्म धेरै लिएर नहिँड्ने । नगद बोक्दा सुरक्षित तरिकाले राख्ने ।
  • आफू जाने ठाउँ नजिकका प्रहरीबारे जानकारी लिने ।
  • केही आपत परेमा के गर्ने भनेर योजना बनाउने ।
  • कुनै शंकास्पद व्यक्ति, वस्तु देखिएमा नजिकको प्रहरीलाई जानकारी दिने । साथै प्रहरी कार्यालयका हटलाइन नम्बरहरु जहिले पनि साथमा लिएर हिँड्ने । अरुलाई पनि बाँड्ने । शंका लागेमा खबर गर्ने

 घर तथा अन्य स्थानमा चोरी हुनबाट सुरक्षित हुने उपायहरु

  • आफ्नो घर वरिपरि तथा हिँडडुल गर्दा सावधानी अपनाउने । शंकास्पद वस्तु तथा व्यक्तिहरुको निगरानी गर्ने  ।
  • घरबाट बाहिर जानुपर्दा छिमेकीका साथै नजिकको प्रहरीलाई खबर गरेर मात्र जाने ।
  • बाहिर निस्कनु अघि झ्याल, ढोका राम्ररी बन्द गर्नेे ।
  • घरको बाहिरी कम्पाउण्डमा सीसी क्यामरा तथा अटोमेटिक सेन्सर लाइट जडान गर्ने ।
  • सुरक्षा साइरन जडान गर्ने ।
  • नगद तथा बहुमूल्य सामानहरु दराजभित्र नराखी अन्य सुरक्षित ठाउँमा राख्ने ।
  • आफ्नो बहुमूल्य सामानहरुको फोटो खिचेर राख्ने । चोरी भएको खण्डमा पत्ता लगाउने काममा यसले प्रहरीलाई सहयोग हुनसक्छ ।
  • बहुमूल्य सामानहरु प्रदर्शन नगर्ने ।
  • गरगहनाको शाेख भए नक्कली गरगहना प्रयोग गर्ने ।
  • बैंकहरुबाट पैसा झिक्दा वा जम्मा गर्दा विशेष सतर्कता अपनाउने ।
  • रातको समयमा घर, कम्पाउण्डमा बिजुली बत्तीको व्यवस्था गर्ने ।
  • ताल्चा लगाउँदा बाहिर गेटबाट नभइ भित्रबाट लगाउने, बाहिरबाटै लगाउनुपरेमा पनि बलियो ताल्चा लगाउने ।
  • रातको समयमा घरमा काेही नभए पनि कोठाको बत्ती बाल्ने, साथै पर्दा राम्ररी लगाउने ।
  • विभिन्न कार्यालयका कर्मचारी, भाँडाकुडा बनाउने, ग्याँस चुलो बनाउने, हुलाकी आदिको भेषमा अपरिचित व्यक्ति प्रवेश गर्न खोज्ने हुँदा त्यस्ता व्यक्तिहरु आउँदा सतर्क रहने ।
  • अपरिचित व्यक्तिहरुलाई घरभित्र पस्न नदिने ।
  • सकभर घरमा कुकुर पाल्ने ।
  • सकभर घरलाई खाली नराख्ने ।
  • घरको ढोका, झ्याल फोडिएको देखेमा नुखे र तुरुन्तै प्रहरीलाई खबर गर्ने ।

व्यक्तिगत सुरक्षाका उपायहरु

  • एकान्त ठाउँबाट हिँडडुल नगर्ने ।
  • विशेष गरी रातको समयमा हिँडडुल गर्दा एक्लै नहिँड्ने, समूहमा मात्र हिँड्ने ।
  • आफूले हिँड्ने, घुम्न जाने ठाउँको बारेमा पूर्व जानकारी राख्ने ।
  • यात्रा गर्दा आफ्नो सामान, झोलाहरुको राम्ररी जाँच गरेर मात्र हिँड्ने ।
  • शंकास्पद व्यक्तिहरु देखिए दूरी कायम गरेर हिँड्ने ।
  • सार्वजनिक यातायातबाट यात्रा गर्दा सकभर नसुत्ने ।
  • शंकास्पद व्यक्तिहरु देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्ने ।
  • यात्रा गर्ने गाडीमा चढनु अगाडी गाडीको नम्बर नोट गर्ने साथै आफन्तलाई सो गाडीको बारेमा जानकारी दिने ।

यी माथि उल्लिखित सुरक्षाका उपायहरु अपनाउन सके धनमाल लुटिन, चाेरिनबाट जाेगिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *