एनआईसी एसिया बैंक भित्र समस्या , व्यवस्थापन र कर्मचारीबीच द्धन्द

पछिल्लो समय निकै चर्चामा आएको एनआईसी एसिया बैंक भित्र समस्या सिर्जना भएको छ । सो बैंकमा व्यवस्थापन र कर्मचारीबीच द्धन्द चुलिएको छ ।

कर्मचारीहरुले विभिन्न शाखामा आंशिक तथा पूर्ण हडताल गरिरहेका छन् । कर्मचारीहरुले विभिन्न तरिकाले व्यवस्थापन विरुद्ध विद्रोह गर्दै अवरोध सिर्जना गरे पनि आफ्ना आन्दोलन तथा विद्रोह भने औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।

‘आवश्यकता पर्‍यो भने हामी पत्रकार सम्मेलन गरेर तथ्य सार्वजनिक गर्छौं । तर, अहिले चाहिँ व्यवस्थापन सच्चिने आशामा संयमित छौं’– एक कर्मचारीले बताएको सनराइज खबरले लेखेको छ ।

विद्रोही कर्मचारीले बैंकका विभिन्न प्रणालीका काम पनि बारम्बार ठप्प पार्दै आएका छन् ।

कर्मचारीलाई अस्वाभाविक तरिकाले व्यापक रुपमा सरुवा गर्न थालिएपछि समस्या सिर्जना भएको एक कर्मचारीले बताएका छन् । उनका अनुसार कर्मचारीहरुलाई सुनियोजित रुपमा दुख दिने उद्देश्यले दशैंको मुखमा जथाभावी सरुवा गरिएको छ । जागिर नै छाड्नुपर्ने अवस्थामा सिर्जना हुने गरी सरुवा गरिएकाले कर्मचारीले विद्रोह गरेको बुझिएको छ ।

बैंकले कर्मचारी व्यवस्थापनमा चरम लापरबाही गरेको कर्मचारीहरुको आरोप छ ।

यो बैंकका प्रदेश–१ का कर्मचारीहरुले अन्यायपूर्ण सरुवा तथा अन्य उत्पीडन भएको भन्दै विभिन्न माग राखेका छन् । उनीहरुले बैंकका सीईओ रोशनकुमार न्यौपानेको राजिनामा समेत मागेका छन् ।

‘नियतवश ठूलो संख्यामा कर्मचारीलाई जागरिबाट निकाल्ने बदनियत राखेर व्यवस्थापनले जथाभावी सरुवा गरेको छ’–कर्मचारीेका मागमा लेखिएको छ ।

सरुवा गर्नुपरेमा कर्मचारीको पनि सहमति लिनुपर्ने उनीहरुको माग छ । कार्यालय समयभन्दा बढी समय खटाइएको, बिदाको दिन पनि काम लगाइएको, कर्मचारीलाई सताइएको भन्दै पीडित कर्मचारीहरुले यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरेका छन् ।

यो बैंकले कर्मचारीलाई ड्युटी समय सकिए पनि राति अबेरसम्म काममा लगाउने गरिएको र ओभरटाइम नदिएको समाचार विगतमा पनि सार्वजनिक भइसकेको छ ।

व्यवस्थापनले आफूहरु विरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरेकोमा पनि कर्मचारीहरुको गुनासो छ ।

यसै बीच प्राप्त अर्को जानकारी अनुसार बैंकको ईमेल प्रणालीमा बारम्बार अवरोध हुने गरेको छ । व्यवस्थापनले नै अवरोध सिर्जना गरेको हो कि विद्रोही कर्मचारीले हो भन्ने स्पष्ट हुन सकेको छैन ।

यो बैंक मर्जरमा जाने प्रक्रियामा रहेकोले कर्मचारी कटौति गर्न व्यवस्थापनले दमनकारी नीति लिएको कर्मचारीहरुको आरोप छ ।

यो बैंकले आक्रामक रुपमा बजार विस्तार गर्न ठूलो संख्यामा कर्मचारी भर्ना गरेको थियो । एनआईसी एसियाले क्षमताभन्दा धेरै कर्मचारी राखेर बजार विस्तार गरिरहेको विचार कतिपय बैंकरहरुले राखेका थिए ।

मर्जरमा जाँदा ‘ओभर स्टाफिङ’को समस्या आउने देखिएपछि व्यवस्थापनले आफूहरुलाई राजीनामाका लागि वाध्य पार्न खोजिएको आरोप कर्मचारीहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *