कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रविधिको प्रयोगलाई बढावा दिइरहेको बताइरहेका बेला कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलको प्रदेश ५ सरकारले ई–सेवाबाट हवाई टिकट कारोबार गर्न प्रतिबन्ध लगाएको छ ।
प्रदेश ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक विज्ञप्ति नै निकालेर ई–सेवाबाट हवाई टिकट लगायतका कारोबार गर्न प्रतिवन्ध लगाएको छ ।
विज्ञप्तिमा पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली ई–सेवा लगायतका ई–टिकेटिङबाट हवाई टिकेटिङको कारोबार गरेको पाइएमा २० हजार रुपैयाँ जरिवानासहित कारोबार बन्द हुने उल्लेख छ ।
मन्त्रालयले हवाई टिकेटिङको कारोबारमा इजाजत नलिइकन कानूनतः अवैध रुपमा कारोबार गरिरहेका व्यक्ति, संघ–संस्था तथा फर्महरूलाई अवैध रुपमा कारोबार नगर्न सूचना जारी गरेको छ ।
नेपाल ट्राभल एण्ड टूर एजेन्ट एसोसियसन प्रदेश ५ अध्यक्ष सागर अधिकारीले अधिकांश ठाउँमा गैरकानूनी रुपमा ई–सेवा लगायतका इ–टिकेटिङ मार्फत हवाइ टिकेटको कारोबार भएकोले कारोबार बन्द गराउनुपरेको बताए ।
एसोसियसनले टूर कम्पनीले लाखौं रुपैयाँ धरौटी राखेर हवाइ टिकटको कारोबार गर्ने तर ई–सेवाको प्रयोग गरी पान पसलदेखि लिएर ठूला व्यवसायीले समेत हवाइ टिकेटिङको कारोबार गर्ने गरेका भन्दै अवैध कारोबार रोक्न माग गरेको थियो ।
