भारतीय ह्याकरको योजनामा कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। लाहान शाखाबाट सो रकम कृषि विकास बैंककै अन्य खातामा ट्रान्सफर गरिएको हो।
सो मध्ये ६० लाख रकम ह्याकर समूहले झिकेको र सो कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन्।
बुधबार महाशाखामा पत्रकार सम्मेलन गर्दै उनले भने, अनुसन्धानबाट लाहान शाखाको रकम ११ वटा खातामा ट्रान्सफर भएको देखिएको छ’, एसएसपी थापाले भने, ती खाताबाट पैसा निकाल्न जाने सबैलाई पक्राउ गरिएको छ। अहिलेसम्म १२ जना पक्राउ परेका छन्।’
पक्राउ पर्नेमा एक भारतीय नागरिक समेत रहेका छन्। घटनाको मुख्य योजनाकार मुम्बईमा रहेको प्रहरीले जनाएको छ। अभियुक्तहरुले १०–१५ प्रतिशत कमिसन राखेर अरु पैसा मुम्बई पठाइदिने योजना रहेको प्रारम्भिक बयानमा उल्लेख गरेका छन्’, एसएसपी थापाले भने, घटनामा कैलाश विकास बैंकको पनि संलग्नता देखिएको छ। हामी अनुसन्धान गरिरहेका छौं।’
ह्याकर समूहको ५ अर्ब रुपैयाँ झिक्ने योजना रहेको एसएसपी थापाले दाबी गरे। पानस रेमिटको उजुरी आधारमा कृषि विकास बैंकको ह्याकिङ प्रकरण खुलासा भएको हो। असोज ५ गते सो रेमिट कम्पनीले संकास्पद गतिविधिबारे प्रहरीमा उजुरी गरेको थियो। त्यसपछि प्रहरीले राष्ट्र बैंकको सहयोगमा अनुसन्धान अघि बढाएको थियो।
पक्राउ पर्नेहरुमा लवाङ तामाङ, लक्ष्मी तामाङ रसुवा, सञ्जय घले काभ्रेस्थली, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का सर्लाही, विद्यासागर लामिछाने लमजुङ छन्। यसैगरी श्रमणकुमार श्रेष्ठ तनहूँ, सुनिता श्रेष्ठ, सुवम्कर पञ्जा कोलकाता, भारत, विजय साह कैलाली तथा चन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।