दशैँमा घर फर्कँदा विमानस्थलबाट कुनकुन सामग्री बिना भन्सार ल्याउन पाइन्छ ?

काठमाडौं- तपाईं वैदेशिक रोजगारीबाट दशैँमा घर फर्कँदा आफूलाई आवश्यक र मन परेका सामग्री लिएर फर्कँदै हुनुहुन्छ? यदि हो भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कुनकुन सामग्री बिना भन्सार ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्छ। यसका साथै कुन सामानमा ल्याउन कति भन्सार लाग्छ भन्ने पनि बुझ्नुभयो भने अझ सहज हुन्छ।
नेपाल सरकार अर्थ मन्त्रालयको निजी गुन्टा, झिटी, भारीसम्बन्धी व्यवस्था अनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरिएको छ।
लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान। औषधी, उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि। शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैसाखी। सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५ सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया। ट्याब्लेट वा ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक-एक थान। बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान। पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक-एक थान। (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप। खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा- जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
सात किलोग्रामसम्म खाद्य परिकार। मदिरा एक लिटरसम्मको बोतल एक।
भन्सार महसुल तिरेर कुन कुन समान ल्याउन पाइन्छ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐनबमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने व्यवस्था छ। यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले ३ महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।
टेलिभिजन, म्यूजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एक-एक सेट। शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा पन्ध्र थान । घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरजस्ता) दुई-दुई थान। दश किलोसम्म खाद्य परिकार। वसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियरजस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई-दुई थान।नितान्त घरव्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई-दुई थान।
तर यात्रुले ल्याउन पाउने निजी व्यवहारका सामान कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सकिने भन्सार विभागले जनाएको छ।
विदेशबाट फर्किएका यात्रुहरुले ल्याउने काँचो सुनका सम्बन्धमा सरकारले नयाँ व्यवस्था गरेको छ। ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्रामको पाँच हजार २ सय रुपैयाँ, थप पचास ग्राममा प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
विदेश भ्रमणबाट फर्किएका यात्रुका सम्बन्धमा भन्सार शुल्क कति?
विदेशमा छ महिनाभन्दा बढी अवधि बसेर फर्किएका यात्रुले आफू पुगेको ठाउँबाट सो उपदफा (३) बमोजिमका सामान आफूसाथै वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ।
छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ।
छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयाँसम्म, एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चीस हजार रुपैयाँसम्म,सोह्र वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछन् ।
विदेशबाट आफन्तलाई सामान पठाउँदा भन्सार शुल्क कति?
विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडा हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ। विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (३) बमोजिमका सामानमध्ये अमेरिकी डलर तीन सय पचास सम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लिई जाँचपास गर्न सकिनेछ।चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ।
यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ। भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि पचास हजार रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ। कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ।वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ । तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (४) बमोजिम मूल्य छुट सुविधा दिइने छैन। विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन।
