साविक विजेता नेपाल काठमाडौंमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
समूह चरण अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाडेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । समूह ’बी’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न भुटानले ३–० को जित निकाल्नु पर्ने आवश्यकता रहेको थियो ।
तर, दोस्रो रोजाईका १० खेलाडीसहित मैदान उत्रिएको भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेल्दै भुटान समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्नु सफल भयो ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेको हो । दोस्रो रोजाईका १० खेलाडीसहित मैदान उत्रिएको भुटानविरुद्ध माल्दिभ्सले गोल गर्न सकेनन् । यो बराबरीसँगै समूह विजेता बनेको भुटानले २ खेलमा ४ अंक जोड्यो । पहिलो खेलमा भुटानले नेपाललाई ३–० ले हराएको थियो ।
यस्तै माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो । माल्दिभ्सले पहिलो खेलमा नेपालसँग १–१ गोलको बराबरी खेलेको थियो ।