फिफाको उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि लियोनेल मेस्सीले जिते

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि लियोनेल मेस्सीले जितेका छन् ।

इटालीको मिलानमा आयोजित कार्यक्रममा वर्षभरी गरेको प्रदर्शनका आधारमा फिफाले विभिन्न विधाका उत्कृष्ट ‘द बेस्ट’ लाई अवार्ड प्रदान गरेको हो । द बेस्ट पुरुष खेलाडीको उपाधि जित्नका लागि बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेस्सीले लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका थिए ।

उनले बार्सिलोनाबाट अघिल्लो सिजन ला लिगाको उपाधि जितेका थिए । यस्तै, च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

यस्तै, महिला तर्फको उत्कृष्ट खेलाडीको अवार्ड अमेरिकी खेलाडी मेगन रोपिनोले जितिन् । उनले ओलम्पिक लियनोबाट खेल्ने इंग्लिस खेलाडी लुसी ब्रोन्ज र ओर्लाण्डो प्राइडबाट खेल्ने अमेरिकी खेलाडी एलेक्स मोर्गन पार्दै अवार्ड जितेकी हुन् । अमेरिकालाई हालै सम्पन्न महिला विश्वकपको उपाधि जिताउन उनको भुमिका महत्वपूर्ण थियो ।

पुरुष प्रशिक्षक तर्फको उपाधि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन् । उनले म्यान्चेष्टर सिटीका पेप गार्दियोला र टोटनह्यामका माउरिसियो पोचेटिनोलाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल भए । उनले १४ वर्षपछि पहिलो पटक लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *