मस्को । इरानमा भइरहेको सरकार विरोधी प्रदर्शन र त्यसपछि उत्पन्न तनाव कम गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सक्रियता देखाएका छन्। राष्ट्रपति पुटिनले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरी यस क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गरेका हुन्।
इरानमा भइरहेको प्रदर्शनमा सुरक्षा बलले गरेको कारबाहीमा ठुलो सङ्ख्यामा मानवीय क्षति भएपछि मस्कोले तनाव कम गर्न मध्यस्थताको प्रयास थालेको हो। रुसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस क्षेत्रको स्थिति निकै तनावपूर्ण रहेको स्वीकार गर्दै राष्ट्रपति पुटिनले स्थितिलाई साम्य पार्न प्रयास जारी राखेको जानकारी दिए। इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको कुराकानीमा पुटिनले रुस मध्यस्थताका लागि सधैँ तयार रहेको सन्देश दिएका छन्।
इरान र इजरायलबीचको सम्बन्ध गत जुनमा भएको सैन्य झडप र आणविक केन्द्रहरूमा गरिएको आक्रमणपछि झन् बिग्रिएको छ। अमेरिकाले इरानमाथि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिइरहेका बेला रुसको यो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। अर्कोतर्फ, साउदी अरब, कतार र ओमानले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इरानमा हुन सक्ने सम्भावित आक्रमण रोक्न वार्ताको पहल गरिरहेका छन्।
इरानले आफ्नो देशमा भइरहेको अशान्तिको पछाडि अमेरिका र इजरायलको हात रहेको आरोप लगाउँदै आएको छ। यता नेतान्याहुले भने इरान चाँडै निरंकुशताबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन्।