२ माघ, काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका एसएमएस सन्देश प्रवाह नगर्न सम्बद्ध सेवा प्रदायकलाई सचेत गराएको छ ।
टेलिकमसँग सम्झौता गरेर विभिन्न भ्यालु एडेड सर्भिस सेवा प्रदायकले एसएमएसमा आधारित विभिन्न प्रकारका सन्देश सेवाग्राहीसमक्ष पठाउँछन् । एक विज्ञप्ति जारी गर्दै टेलिकमले भ्यालु एडेड सर्भिस सेवा प्रदायकलाई सचेत गराएको हो ।
‘जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने कार्य पुनः दोहोर्याएमा सम्झौताको प्रावधान बमोजिम दुई पक्ष बीचको सम्झौता नै रद्द गर्न सकिने छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।
सेवा प्रदायकले नै सेवाग्राहीको आवश्यकता बमोजिमको सन्देश पठाउने र आवश्यक नियन्त्रण कार्य गर्दै आएका छन् । ‘यसका लागि नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउने गरेको छैन’ टेलिकमले भनेको छ ।