कप्तान रोहितले भने, ‘घोषित नगद पुरस्कार खोई ?’

काठमाडौँ — ट्वान्टी–२० विश्वकपमा पुगे पनि घोषित पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान रोहित पौडेलले गुनासो पोखेका छन् । अक्टोबरमा ओमानमा भएको ट्वान्टी–२० विश्वकप छनोट जित्दै..

काठमाडौँ — ट्वान्टी–२० विश्वकपमा पुगे पनि घोषित पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान रोहित पौडेलले गुनासो पोखेका छन् । अक्टोबरमा ओमानमा भएको ट्वान्टी–२० विश्वकप छनोट जित्दै नेपालले तेस्रो पटक विश्वकपमा पुगेको थियो ।

नेपाल सरकारको कार्यविधिअनुसार विश्वकप छनोट जित्ने नेपाली टोलीका खेलाडीले जनही १९ लाख ५० पाउने छ । तर सरकारको कार्यविधिमै उल्लेख भएको पुरस्कार रकम नपाउँदा खेलाडीलाई अप्ठ्यारो परेको रोहित बताउँछन् ।

‘हाम्रो अधिकार जे छ त्यो चाँहि पाउनु पर्छ जस्तो लाग्छ । खेलाडी जीवनपछि यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्दा पनि अहिले जे पाउनु पर्ने हो, त्यो दिनुपर्छ जस्तो लाग्छ । त्यसपछि संन्यासपछिको कुरा गरौंला,’ रोहितले भने ।

उनले अगाडि भने, ‘४ महिना भइसक्दा पनि हामीले घोषित पुरस्कार पाएका छैनौं । केही प्रक्रिया पनि अगाडि बढेको छ जस्तो लाग्दैन । यो पक्ष हामीले मिस गरिरहेका छौं । विश्वकप अगाडि घोषित पुरस्कार आयो भने खेलाडीको मनोबल बढ्छ । खेलाडीहरुलाई पनि पैसाको आवश्यकता छ, सरकारले यसमा हेरिदियो भने राम्रो हुन्छ ।’

सन् २०२३ मा नेपालमै भएको विश्वकप छनोटमा उपविजेता भएर विश्वकप पुगेको नेपाली टोलीका हरेक खेलाडीलाई सरकारले जनही १३ लाख रुपैयाँ प्रदान गरेको थियो । यसपटक ओमानमा नेपाली टोलीले विश्वकप छनोटको उपाधि नै जितेको थियो ।

ट्वान्टी–२० विश्वकपको तयारीका लागि नेपाली टोली आइतबार श्रीलंका जाँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *