Home Blog

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने भएको छ।

मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरूङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो।

असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु–याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो।

मेलम्ची खानेपानी आयोजनाको उद्घाटनमा आज प्रधानमन्त्री देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो।

तर निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा जान नपाएको खानेपानी मन्त्रालयले जनाएको छ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको पुनः उद्घटना गर्ने भएका छन्।

मन्त्रालयले मेलम्चीको अम्बाथानस्थित अडिटमा पुगेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएको छ। अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो।

गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो।

मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए।

‘सुन्दरीजलमा ट्रिटमेन्ट भएर काठमाडौंका धारामा आइपुग्न एक–दुई दिन लाग्ला,’ आचार्यले भने।

अम्बाथान पुग्नुअघि प्रधानमन्त्री देउवा र मन्त्री चौधरी सुन्दरीजल जाने कार्यक्रम थियो। त्यहाँ सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो।

भट्टराईको प्रधानमन्त्रीकालमा २०४८ सालमा मेलम्चीको पानी काठमाडौं ल्याउने अवधारणा आएकाले सरकारले सुन्दरीजलमा उनको शालिक बनाउने भएको हो।

त्यसपछि देउवा र चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, खानेपानी मन्त्रालयका सचिवलगायतको टोली अम्बाथान पुग्ने कार्यक्रम राखिएको थियो।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले अनुसार अस्थायी रूपमा पानी ल्याउनका लागि सबै संरचना तयार भएको बताए।

अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम सकिएपछि मन्त्रालयले त्यहीँ उद्घाटनको कार्यक्रम राखेको छ।

मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्।

आयोजनाले कफरड्याम पनि अस्थायी नै बनाएको छ। चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार थियो।

गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो।

गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।

मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ। त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ।

मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो। एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको छ।

आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुनसकेन

भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन सकेको छैन।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।

केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म उद्धार हुन नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ५ वटा ट्रलीमा अहिले पनि १५ जना अड्किएका छन्।

जसमा पर्यटकसहित एक जना एयरफोर्सका जवान छन्। हालसम्म ट्रलीबाट खसेर तीन जनाको मृत्यु भइसकेको छ।

अड्किएका पर्यटकको उद्धार गर्ने क्रममा एयरफोर्सका एक जना जवान पनि ट्रलीमा फसेका छन्। खबरअनुसार २० नम्बर ट्रलीमा बच्चासहित ५ जना, १९ नम्बर र ७ नम्बर ट्रलीमा २–२ जना, ६ नम्बर ट्रलीमा २ बच्चासहित ५ जना र ४ नम्बर ट्रलीमा एयरफोर्सका जवान फसेका छन्।

सुरक्षाकर्मीले हालसम्म ट्रलीमा फसेका ४८ मध्ये ३३ जनाको उद्धार गरेको छ।

केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पु¥याइएको छ।

भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।

सेतो मच्छिन्द्रनाथ लगनस्थित आमा करुणामयीको मन्दिरमा

सेतो मच्छिन्द्रनाथको जात्राको तेस्रो दिन सोमबार सेतो मच्छिन्द्रनाथलाई उनकी आमा करुणमयीको मन्दिर परिक्रमा गराईएको छ । काठमाडौंको लगनटोलमा रहेकी मच्छिन्द्रनाथकी आमाको मन्दिर ३ पटक पक्रिमा गराउने प्रचलन रहेको छ । जस अनुसार सोमबार १ पटक परिक्रमा गराइएको छ भने भोलि मङ्गलबार २ पटक परिक्रमा गराइनेछ । यस अघि शनिबार दरबारमार्गको तीनधाराबाट शुरु भएको रथयात्रालाई असन र हनुमानढोकामा एक एक रात बास बसाइएको थियो ।

एएफसी फुटसल छनोट प्रतियोगितामा नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं । सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्नुका साथै पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल एएफसी फुटसल एसियन कपको सेन्ट्रल तथा साउथ जोन छनोट प्रतियोगितामा ताजकिस्तानसँग ११–१ ले पराजित भएको छ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले तेस्रो मिनेटमै आदील हमीदको गोलबाट अग्रता लिएको थियो । तर, नेपाल खेल सकिँदा १० गोलको अन्तरमा पराजित भयो ।

नेपालले तेस्रो मिनेटमा आदिल हमीदको गोलबाट अग्रता लिएको थियो । उनले विपक्षी रक्षापंक्तिले गरेको गल्तिको फाइदा लिँदै गोल गरेका हुन् । आठौं मिनेटमा योरोभ इद्रिसले बराबरी गोल फर्काएका थिए ।

अलिमाखमादोभ नेक्रुज १७ औं मिनेटमा रातो कार्डको सामना गरेपछि ताजकिस्तान चार खेलाडीमा सिमित भएको थियो । नेक्रुजले नेपालका मणिकुमार लामाको मुखमा हातले हानेपछि रातो कार्डको सामना गरेका थिए । लगत्तै नेपालका विजय श्रेष्ठले पनि रातो कार्डको सामना गरेपछि दुबै टोलीले पहिलो हाफको बाँकी समय चार खेलाडी रहेर खेलेका थिए । नेपालका गोलकिपर अनिश श्रेष्ठ अगाडि बढेको अवस्थामा सारदोरोभ फेजालीले हानेको प्रहार विजयले हातले रोकेपछि रेफ्रीले रातोे कार्डको दर्शन पाएका थिए । त्यसपछि पाएको पेनाल्टी अवसरलाई ताजिकिस्तानले सदुपयोग गर्न सकेन । ताजकिस्तानका फेजालीले हानेको प्रहार बारमा लागेर फकिएको थियो । पहिलो हाफमा पेनाल्टीमा चुके पनि फेजालीले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए ।

पहिलो हाफ १–१ को बराबरी खेले पनि दोस्रो हाफको सुरुमै ताजकिस्तानले कुजिभ उमेदको गोलबाट अग्रता लियो । २५औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका फेजालीले ३१औं मिनेटमा दोस्रो गोल थपेका थिए । फेजालीले हानेको प्रहार नेपालका सरोज तामाङको ख्ट्टामा लागेर गोल भएको थियो । उनले त्यसको एक मिनेटमै ह्याट्रिक गरेका थिए ।

हालीमोभ शाबक्वाटले ३३ र ३४औं मिनेटमा गोल थपे । शाबक्वाटले दोस्रो गोल थप्नुअघि उमेदले व्यक्तिगत दोस्रो गोल थपेका थिए । रिजोमोभ समान्दर ३७ र ३८औंमिनेटमा अर्को गोल थपे । त्यस्तै समान्दरले दोस्रो गोल गर्नुअघि इद्रिसले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

हारसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल पहिलो खेलमा पनि उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । ताजकिस्तान भने पहिलो खेलमा अफगानिस्तानसँग ४–४ को बराबरी खेलेका थिए ।

नेपालले अब अन्तिम खेलमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा भानु नगरपालिका–७ तनहुँकी २७ वर्षीया सोविता नेपाली छिन्।

उनलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान लागेकी थिइन्।

उनले बोकेको लेडिज हाते ब्यागबाट एक थान गोली बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

पक्राउ परेकी महिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

महजोडीको मुख्य भूमिका रहने सिनेमा ‘महापुरुष’को निर्माण घोषणा

काठमाडौं । वरिष्ठ हास्य कलकार महजोडीको मुख्य भूमिका रहने सिनेमा ‘महापुरुष’को निर्माण घोषणा गरिएको छ ।

वैशाख दोस्रो साताबाट फ्लोरमा जाने सिनेमालाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् ।
षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दीपेश खत्री निर्माताको रूपमा छन् । सिनेमाका कार्यकारी निर्माता रवीन्द्र सिंह बानिया हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल सिनेमामा सहकार्य गरिसकेका छन् । यो उनीहरूको तेस्रो सहकार्य हो ।

निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि सिनेमा निर्माण र निर्देशनको सफलतामा ह्याट्रिक गरिसेकाका छन् ।

सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी र अरुण क्षेत्रीको अभिनय रहने छ । अरुण यही सिनेमाबाट अभिनेताको रूपमा डेव्यु गर्दै छन् ।

यस्तै, निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमामा अभिनेय गर्ने अन्य कलाकार अभिनेत्री छनोट प्रक्रिया चलिरहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले खिच्ने छन् ।

भारतका विभिन्न चार राज्यमा साम्प्रदायिक झडप

काठमाडौं । छिमेकी मुलुक भारतका विभिन्न चार राज्यमा रामनवमीको अवसरमा निकालिएको र्यालीमा साम्प्रदायिक झडप भएको छ भने सोही कारण गुजरातमा एकजनाको मृत्‍यु भएको छ ।

गुजरातको खाम्बात शहरमा भएको झडपमा अन्दाजी ६५ वर्षी य वृद्धको मृत्‍यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । झडपका कारण खाम्बातका केही पसलहरुमा आगलागीसमेत भएको छ ।

यस्तै भारतको मध्यप्रदेशमा पनि साम्प्रदायिक झडप सुरु भएपछि हाल सेक्सन १४४ लागू गरिएको छ । गुजरात, मध्यप्रदेश सँगसँगै वेस्ट बेङ्गोल र झारखण्डमा पनि साम्प्रदायिक झडप भएको जनाइएको छ ।

सत्तागठबन्धनको बैठक: आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ ।

गठबन्धनमा आबद्ध पाँच दलका शीर्षस्थ नेताबीच भएको बैठकले आगामी वैशाख ३० गते हुने चुनावमा देशभर गठबन्धन गर्ने र चुनावी तालमेलको मोडालिटीको बारेमा भोलि बस्ने बैठकमा छलफल हुने सरकारका प्रवक्ता एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पाँच दलका शीर्ष नेताद्वारा हस्ताक्षरित अपिलमा आपसमा मिलेर निर्वाचन लड्ने संकल्पसमेत गरिएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।

विवेकशील साझा पार्टी काठमाडौंको मेयर र उपमेयरका लागि दुई महिलालाई अगाडि सार्ने निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरका लागि दुई महिलालाई अगाडि सार्ने निर्णय गरेको छ ।
विवेकशीलका प्रवक्ता शरदराज पाठकका अनुसार मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा तय गर्दै दुईजनाको नाम टुंग्याएको विवेकशीलले जनाएको छ ।

मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् ।

उपमेयरमा अघि सारिएकी कीर्ति पार्टीकी केन्द्रीय सदस्य छिन् । उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षामा स्नातकोत्तर गरेकी ६२ वर्षीया कीर्ति अन्तर्राष्ट्रिय जेसीजको दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको विवेकशीलले जनाएको छ ।

‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएकोले महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिबद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूआत हुनेछ’, अध्यक्ष रवीन्द्र मिश्रले विश्वास जनाएका छन् ।

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले जनाकपुरको भानुचोकबाट उनलाई पक्राउ गरेको हो।

जग्गा सम्बन्धी मुद्दा पक्षमा गरिदिने भन्दै घुस मागेको आरोपमा उनलाई सोमबार बिहान पक्राउ गरिएको अख्तियारले जनाएको छ।

रामकुमार महतो, सरिताकुमारी महतो र भाइबुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको धनुषा झिझिकटैयाको जग्गामा विक्रम झाले हक साफ मुद्दा दायर गरेका थिए।

मुद्दाको पेशी चैत १४ गते भएको थियो। निर्णय सुनाउने मिति २१ गते बोलाइएकोमा फैसला सुनाएवापत् घुस मागेको आरोप झामाथि छ।